

कञ्चनपुरको बेलौरी क्षेत्रमा “ग्रह शान्ति” गराइदिने बहानामा पैसा उठाउने चार जना भारतीय नागरिकलाई स्थानीयले नियन्त्रणमा लिएको घटना सार्वजनिक भएको छ। जोगीको भेषमा आएका उनीहरूले घर–घर पुगेर परिवारमा ग्रह दोष लागेको भन्दै पूजा गर्नुपर्ने दबाब दिई रकम असुलेका थिए।
शनिबार दिउँसो बेलौरी नगरपालिका–१० भुडा र बारझालामा तीन जनाबाट करिब १५ हजार ५ सय रुपैयाँ उठाएपछि स्थानीयहरू सतर्क भएका थिए। पीडितहरूका अनुसार उनीहरूले परिवारमा मसान लागेको, ग्रहले दुःख दिएको जस्ता कुरा सुनाउँदै डर देखाएर राति विशेष पूजा गर्नुपर्ने बताएका थिए। त्यसका लागि महँगो सामग्री किनेर विशेष विधि गर्नुपर्ने भन्दै मानसिक दबाब दिइएको थियो।भुडाका बिन्टीराम चौधरीले जोगीहरूले परिवारका सदस्य अपाङ्ग हुन सक्ने र ठूलो विपत्ति आउने भन्दै डर देखाएको बताए। आफूले त्यस्तो पूजा गर्न नसक्ने बताएपछि उनीहरूले पूजा खर्च भन्दै नगद लिएको उनको भनाइ छ। अन्य दुई जनाबाट पनि यस्तै तरिकाले रकम उठाइएको थियो।
एक जनाबाट पैसा लिएपछि खबर फैलिँदै गएपछि स्थानीयहरूले भुडाबाट एक जना र नजिकैको क्षेत्रबाट थप तीन जनालाई नियन्त्रणमा लिएका थिए। नियन्त्रणमा परेका मोनु कुमार र रन्जित राजले लिएको पैसा फिर्ता गरेका छन्।
त्यसपछि उनीहरूलाई प्रहरी, पीडित र स्थानीय जनप्रतिनिधिको उपस्थितिमा भविष्यमा यस्तो कार्य नगर्ने र नेपाल नआउने सर्तमा सम्झाइबुझाइ गरी छोडिएको जनाइएको छ। उनीहरू बेलौरी नगरपालिका–९ कुण्डा क्षेत्रमा बस्दै आएको र जीविकोपार्जनका लागि यसरी माग्ने काम गर्दै आएको बताएका छन्।

