

काठमाडौँ – आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानदेखि नै देशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली देखिएको छ।
महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भाग र देशका अन्य हिमाली क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने मधेश प्रदेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
दिउँसोका समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी क्षेत्र र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो दिन हुने सम्भावना पनि महाशाखाले औंल्याएको छ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
यसअघि गएराति देशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली र तराई क्षेत्रमा आंशिक बदली रहेको थियो भने केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात भएको थियो।

