

कैलालीको गोदावरी सामुदायिक वन क्षेत्रमा बढ्दो अतिक्रमण नियन्त्रण गर्न अभियान सुरु गरिएको छ। डिभिजन वन कार्यालय धनगढी र गोदावरी सामुदायिक वनको संयुक्त पहलमा अतिक्रमित क्षेत्र खाली गराउने कार्य अघि बढाइएको हो।
सामुदायिक वनका अध्यक्ष निर्मल कुमार मगरका अनुसार भ्यागुते पानी आसपासका क्षेत्रमा पछिल्लो समय अनधिकृत रूपमा घरटहरा निर्माण तीव्र रूपमा बढेपछि नियन्त्रणका लागि यो अभियान सञ्चालन गरिएको हो।

अभियानअन्तर्गत अतिक्रमण गरेर बनाइएका संरचना हटाउने तथा भत्काउने काम सुरु भइसकेको छ। आवश्यक परे थप कडाइका साथ अभियान अगाडि बढाइने जनाइएको छ।
वन क्षेत्रको संरक्षण, जैविक विविधताको जगेर्ना तथा प्राकृतिक स्रोतहरूको दिगो उपयोग सुनिश्चित गर्ने उद्देश्यले यस्तो कदम चालिएको अध्यक्ष मगरले बताए। साथै, स्थानीयवासीलाई वन अतिक्रमण नगर्न र संरक्षण अभियानमा सहयोग गर्न आग्रह गरिएको छ।


