

धनगढीमा आयोजित हाफ म्याराथनको उपाधि नेपाल आर्मीका नरेन्द्रसिंह रावतले जितेका छन्। ‘अब धनगढी दौडिन्छ’ भन्ने नारासहित आज सम्पन्न प्रतियोगितामा उनले निर्धारित २१ दशमलव १ किलोमिटर दूरी पूरा गर्दै पहिलो स्थान हासिल गरे। उपाधिसँगै उनले ७७ हजार ७७७ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
रावत २०७९ सालदेखि धनगढी हाफ म्याराथनमा सहभागी हुँदै आएका थिए। २०७९ र २०८० सालमा दोस्रो स्थान हासिल गरेका उनी २०८१ र २०८२ सालमा तेस्रो भएका थिए। पाँचौं प्रयासमा उनले अन्ततः उपाधि जित्न सफल भएका हुन्।
धनगढी जेसिजद्वारा आयोजित प्रतियोगितामा नेपाल आर्मीका सञ्जय श्रेष्ठ दोस्रो र अक्कल पाल तेस्रो भएका छन्। दोस्रो हुने श्रेष्ठले ५५ हजार ५५५ रुपैयाँ तथा तेस्रो हुने पालले ४४ हजार ४४४ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
यसै अवसरमा पाँच किलोमिटर महिला तथा कर्पोरेट दौड पनि सम्पन्न भएको थियो। प्रतियोगिताका संयोजक दिपेश बोहराका अनुसार कर्पोरेटतर्फ कुशलप्रसाद जोशी प्रथम, प्रदीप खत्री दोस्रो र तेजबहादुर चन्द तेस्रो भएका छन्। महिलातर्फ देवकीकुमारी धामी पहिलो, शिला चौधरी दोस्रो र अपसरा बम तेस्रो भएका छन्।
धनगढी जेसिजका अध्यक्ष महेश्वर ओझाका अनुसार दुवै विधाका विजेताले ७ हजार ७७७ रुपैयाँ, दोस्रो हुनेले ५ हजार ५५५ रुपैयाँ र तेस्रो हुनेले ४ हजार ४४४ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
सहभागीहरूमध्ये लक्की ड्रमार्फत जिनेत कुँवरले एलइडी टिभी जितेका छन्। यस वर्षको हाफ म्याराथनमा सर्वाधिक रक्तदाता दीपक उपाध्याय ‘फेस अफ द इभेन्ट’ घोषित भएका छन्।

