

धनगढी । कञ्चनपुरमा इँटा भट्टामा ट्याक्टरले किच्दा दुई जनाकाे मृत्यु भएको छ भने एक जना गम्भीर घाइते छन् ।
पुनर्वास नगरपालिका–७ ‘च गाउँ’काे न्यू इँटा उद्योगमा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु भएको छ भने एक बालक गम्भीर घाइते भएकाे प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) प्रेमबहादुर शाहीले गएराति इँटा उद्योगमा ट्याक्टरले ठक्कर दिदा भारतको उत्तरप्रदेश, बहराइच जिल्ला बस्ने २७ वर्षीय अजय कुमार र ९ वर्षीय पवन कुमारकाे मृत्यु भएको बताए ।
उनकाअनुसार घाइते अवस्थामा उपचारका लागि धनगढी ल्याइएका उनीहरू मध्ये अजयकाे सेती प्रादेशिक अस्पताल र पवनकाे नवजीवन अस्पतालमा मृत्यु भएको हाे ।
यस्तै, ११ वर्षीया घुर्रा कुमार गम्भीर घाइते छन् । उनकाे सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।एसपी शाहीकाअनुसार उनीहरूलाई काँचो इँटामा पानी सिँचाइ गर्ने क्रममा से १ त ८८७६ नम्बरको ट्याक्टरले ठक्कर दिएकाे थियाे ।
घटनापछि चालक फरार छन् । उनकाे परिचय खुलेकाे छैन् ।
घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

