

नेपाली कांग्रेसका पाँच भ्रातृ संगठन विघटन भएका छन्। केन्द्रीय कार्यसम्पादन समितिले ती संगठनहरूको केन्द्रीय कार्यसमितिको म्याद थप नगर्ने निर्णय गरेपछि उनीहरू स्वतः विघटनमा परेका हुन्।
विघटन भएका संगठनहरूमा नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल महिला संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ र नेपाल दलित संघ छन्।
तरुण दलका अध्यक्ष विद्वान गुरुङ र दलित संघका अध्यक्ष लोबहादुर विश्वकर्माले यसअघि नै राजीनामा दिइसकेका छन्। उनीहरू पूर्व सभापति शेरबहादुर देउवा निकटका मानिन्छन्।
विशेष महाधिवेशनपछि गगन थापा पार्टी नेतृत्वमा आएसँगै महाधिवेशन सम्पन्न गर्न नसकेका भ्रातृ संगठनका अध्यक्षहरू जिम्मेवारीबाट अलग भएका हुन्।
यसअघि कांग्रेसले तदर्थ समिति गठन भएका भ्रातृ संगठनहरूलाई २०८१ चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो। सो समयसीमाभित्र महाधिवेशन गर्न नसकेमा पदावधि स्वतः समाप्त हुने व्यवस्था गरिएको थियो।
पछि केन्द्रीय कार्यसमितिको बैठक (२०८२ असार १६–२३) ले कार्यतालिका पेश गरेका संगठनहरूलाई थप समय दिने निर्णय गरेको थियो। तर, अधिकांश संगठनहरूले तोकिएको समयभित्र महाधिवेशन सम्पन्न गर्न नसकेको र पर्याप्त तयारीसमेत नगरेको निष्कर्ष निकाल्दै म्याद थप नगर्ने निर्णय गरिएको हो।
का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार म्याद सकिएका समितिहरूले त्यस अवधिमा गरेका निर्णय तथा मनोनयनहरू पनि स्वतः अवैध हुनेछन्।
उनले सार्वजनिक गरेको निर्णयमा नेपाली कांग्रेसको विधानको धारा ४२(१) बमोजिम अधिवेशन हुन बाँकी सबै भ्रातृ संगठनको महाधिवेशन गराउन आवश्यक व्यवस्था मिलाउने जिम्मेवारी केन्द्रीय कार्यसमितिका सभापतिलाई दिइएको उल्लेख छ।
यद्यपि, नेपाल थारु सङ्घको हकमा भने जेठ १६ र १७ गते महाधिवेशनको मिति तय भइसकेकाले सो अवधिसम्म समयावधि थप गर्ने निर्णय गरिएको छ।

