
बाजुरा । बाजुराको हिमाली गाउँपालिकामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ ।

हिमाली गाउँपालिका–१ मैर्तना निवासी चङ्खलाल थापाका १४ वर्षीय छोरा नवराज थापा कवाडी खोलामा नुहाउने क्रममा बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आइतबार दिउँसो ३ बजेतिर खोलामा नुहाउन गएका उनलाई खोलाले बगाएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाही का अनुसार आइतबारदेखि प्रहरी र स्थानीयले खोजी कार्य जारी राखेका थिए । सोमबार पुनः खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब दुई सय मिटर तल बालकको शव फेला परेको हो ।
प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी शव आफन्तलाई बुझाएको जनाएको छ ।

