

धनगढी । मादक पदार्थ सेवन गरेर सरकारी गाडी चलाएका गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टलाई धनगढी उपमहानगरपालिकाले ३५ हजार क्षतिपूर्ति तिराउने भएको छ । शनिबार राति मापसे गरेर उनले चलाएको सुपप्र ०१००१ झ ६०१ नम्बरको गाडी मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डको गेटामा दुर्घटना भएको थियो ।
दुुर्घटनामा परेको गाडीले सडक छेउमा लगाइएको रेलिङमा क्षति पुगाएपछि उपमहानगरपालिकाले सो वाफतको रकम मेयर भट्टलाई दण्ड तिराउने भएको हो । धनगढी उपमहानगरपालिकाका प्राविधिकले गाडीले गरेको क्षतिको मूूल्यांकन गर्दै मर्मत सम्भार गर्न ३५ हजार लाग्ने स्टमेट निकालेका छन् ।
उक्त रकम नगदी रसिद काटेर मेयर भट्टबाट बुुझेर ल्याउन उपमहानगरपालिकाले कैलाली गाउँस्थित प्रहरी चौकीमा नगर प्रहरीलाई पठाएको थियो । तर, वारेस पठाएका मेयर भट्टले आफूले नै मर्मत सम्भार गर्ने प्रतिबद्धता गरेको उपमहानगरपालिकाले जनाएको छ ।
धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा सार्वजनिक सम्पत्तीमा क्षति गराउने व्यक्ति स्वयंमबाट क्षति वाफतको रकम लिने तथा मर्मत सम्भार गराउदै आएको छ ।
मदिरा सेवन गरेर लठ्ठ भएका मेयर भट्टले आफैले चलाएको गाडी शनिबार राति दुर्घटनाग्रस्त अवस्थामा भेटिएपछि स्थानीयले उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले भट्टलाई मदिरा सेवन गरेको गाडी चलाएको भन्दै पाँच सय र लापरवाही गरेको थप पाँच सय गरेर एक हजार रुपैयाँ जरिवाना तिराएर गाडी छाडेको थियो ।

