सुदूरपश्चिममा प्रचण्ड–माधव सहभागी संसदीय दलको बैठक ‘बहिष्कार’ गर्ने दुई सांसदमाथि कारवाहीको माग

cp new add
Nisharg hospital
suchana

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपाभित्रै अनुशासन र एकताको विषयलाई लिएर विवाद सतहमा आएको छ । पार्टीका संयोजक पुुष्पकमल दाहाल प्रचण्डर सहसंयोजक माधव कुमार नेपाल सहभागी प्रदेश संसदीय दलको बैठकमा अनुपस्थित भएका दुई प्रदेशसभा सदस्यलाई कारवाही गर्नुपर्ने माग उठेको हो ।

शुक्रबार धनगढीमा बसेको प्रदेश संसदीय दलको बैठकमा प्रदेशसभा सदस्य घनश्याम चौधरी र रामेश्वर चौधरी अनुपस्थित रहेका थिए । पार्टीको प्रदेशस्तरीय प्रशिक्षण तथा केन्द्रीय सदस्यहरूसँगको परामर्श कार्यक्रमकै क्रममा शीर्ष नेताहरूको उपस्थितिमा बैठक आयोजना गरिएको थियो ।

बैठकमा सहभागी नेताहरूले दुवै सांसदले पार्टी एकताको भावना विपरीत गतिविधि गरेको, प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको तथा नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवारलाई सहयोग गरेको आरोप लगाएका थिए ।

“पार्टी अनुशासन उल्लंघन गर्ने र एकताको मर्मविपरीत जाने प्रवृत्तिलाई छुट दिनु हुँदैन भन्ने धारणा बैठकमा उठ्यो,” बैठकमा सहभागी एक प्रदेशसभा सदस्यले बताए ।

बैठकमा साविक नागरिक उन्मुक्ति पार्टीकी तत्कालीन अध्यक्ष रञ्जिता श्रेष्ठको पनि सहभागिता रहेको थियो । त्यस्तै नेता भीम रावलले समेत पार्टी लाइन नमान्ने जोसुकैलाई अनुशासनको दायरामा ल्याउनुपर्ने धारणा राखेका थिए ।

नेकपा गठनअघि माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीबीच एकता भएको थियो । एकतापछि शीर्ष नेताको उपस्थितिमा प्रदेश संसदीय दलको बैठक पहिलोपटक बसेको बताइएको छ ।

बैठकमा उठेका प्रश्नबारे जवाफ दिँदै संयोजक प्रचण्डले अहिले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । उनले आवश्यक परे अनुशासनको कारवाही प्रक्रिया अघि बढाउन सकिने संकेतसमेत गरेका थिए ।

बैठकमा मधेश प्रदेशको बदलिँदो राजनीतिक समीकरणबारे पनि चर्चा भएको स्रोतले जनाएको छ ।

कारवाहीको माग उठाइएका घनश्याम चौधरी र रामेश्वर चौधरी भने नागरिक उन्मुक्ति पार्टीभित्रको विवादका क्रममा पूर्वसंरक्षक रेशमलाल चौधरी पक्षमा खुलेर उभिँदै आएका नेताका रूपमा चिनिन्छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...