

धनगढी । सरकारलाई आयकर नतिर्ने सूचीमा धनगढीका दुई अस्पताल पनि रहेका छन् । धनगढी–३ को चटकपुरस्थित मायामेट्रो हस्पिटल र एलएन चोकको नोभा हस्पिटलले आयकर तिरेका छैनन् ।
आन्तरिक राजस्व कार्यालय धनगढीले मंगलबार आयकर र मूल्य अभिवृद्धि कर नतिर्ने विभिन्न ५३ व्यवसायिक फर्मको सूची गोरखापत्र दैनिकमा सार्वजनिक गरेको छ ।
सूचीअनुसार यी दुवै अस्पतालले पनि आयकर बाफतको रकम बुझाएका छैनन् । राजश्व कार्यालयले यी सहित सबै फर्मलाई १५ दिनभित्र कर तिर्न भनेको छ । अन्यथा कानुुनबमोजिम असुल उपर गरिने जारी सूचनामा उल्लेख छ ।
राजश्व कार्यालय आर्थिक गोपनियताको कारण ती व्यवसायिक फर्मले तिर्नुपर्ने कर वाफतको रकम सूचनामा नखुलाइएको बताएको छ । तर, कम्तीमा २० लाख भन्दा माथि कर नतिर्ने फर्मको नाम प्रकाशित गरिएको जनाएको छ ।
५३ मध्ये कम्तीमा पनि पाँच वटा फर्मले एक करोड भन्दा बढि राजश्व तिर्न बाँकी रहेको बताइन्छ । राजश्व कार्यालयले सूचना जारी गरेपछि कर तिर्न बाँकी रहेका व्यवसायीहरु सम्पर्कमा आउन थालेको कार्यालयले जनाएको छ ।

