


धनगढी । धनगढी उपमहानगरपालिका –१६ रामपुरमा रहेको बेहडाबाबा मन्दिरमा लागेको गङ्गादशहरा मेलामा अश्लील नृत्य देखाइएको छ। जेठ १२ गतेदेखि सुरु भएको मेलामा आइटम डान्सरहरूलाई बोलाएर अर्धनग्न हुँदै अश्लील गीतहरूमा रातभर नृत्य देखाइएको हो।
मन्दिर व्यवस्थापन समितिले रमाइलो मेलाका नाममा छाडा गीतहरुमा युवतीहरूलाई रातभर नाच्न लगाएर मेलाकै बदनाम गरेको भन्दै तीव्र आलोचना भएको छ। जेठ १५ गतेसम्म सञ्चालन हुने भनिएको मेलामा रातभर डिजेमा अश्लील गीत बजाउँदै नर्तकीहरूले अश्लील नृत्य गर्दै आएको भन्दै सार्वजनिक रुपमा आलोचना भएको छ।
यो वर्ष मन्दिर व्यवस्थापन समितिले बुटवलबाट नर्तकीहरूको टोली नै मगाएर बेहडाबाबामा अश्लील नाच देखाउने काम गरेको स्थानीयले बताएका छन्। उनीहरूले धार्मिक स्थलमा भजन किर्तन र अन्य धार्मिक अनुष्ठान हुनुपर्नेमा भोजपुरी छाडा गीतमा छाडा नाच देखाइएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
धनगढीका तेजविक्रम शाहीले सामाजिक सञ्चालमा अश्लील नृत्य देखाइएको विषयमा तिखो टिप्पणी गरेका छन्। उनले लेखेका छन्, “मानसिकता नै नाङ्गिएकाहरु नै धर्म अध्यात्ममा टेक्दै अग्रपंक्तिमा छन। यिनीहरुले बुझेको धर्म र अध्यात्म ढोङ हो। ढोङ्गीहरु गुरु, नेता ,पदवाला भएपछि जिम्मेवारी पनि उनीहरुकै हो। यस्तै नाकामयावलाई नेता र जनप्रतिनिधिहरुको संरक्षण छ। समाज त यिनीहरुले मात्रै माग्ने र ठग्ने कचौरा हो।”
यस्तै, मनिषा खड्काले “विनाशकाले विपरीत बुद्धि,पहिलो र मुख्य जवाफदेही मेला आयोजक समिति नै हुनुपर्छ। मेलाभित्र कस्ता सांस्कृतिक कार्यक्रम राख्ने, कस्ता स्टलहरूलाई अनुमति दिने भन्ने अन्तिम निर्णय उनीहरुकै हातमा हुन्छ। सस्तो लोकप्रियता वा आर्थिक नाफाका लागि धार्मिक मञ्चमा यस्ता हर्कत हुन दिनु उनीहरूको ठूलो कमजोरी हो” भन्दै मन्दिर व्यवस्थापन समितिको आलोचना गरेकी छन्।
पैसाका लागि धार्मिक स्थलमा अश्लील नाचगान हुनु अस्वाभाविक र लाजमर्दो कुरा भएको भन्दै अधिकांशले मन्दिर व्यवस्थापन समितिले जिम्मेवारी लिनुपर्ने बताएका छन्। तर,मन्दिर व्यवस्थापन समिति भने अश्लील नृत्य रोक्न असफल भएको देखिन्छ।
बेहडाबाबा मेलाको अवसरमा रमाइलो मेला लगाउने भन्दै बलिचरण चौधरीले ठेक्का लिएका हुन्। चौधरीले नै बुटवलबाट युवतीहरू मगाएर बेहडाबाबाको मञ्चमा उतारेका हुन्। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर चन्दले रमाइलो मेलाका लागि ठेक्का सम्झौता गर्दा अश्लील नृत्य देखाउन नहुने भनिए पनि ठेकेदारले सहमति विपरीत काम गरेको बताएका छन्। उनले आगामी वर्षदेखि यस्तो काममा रोक लगाउने बताए।
पारदर्शी र निकै कम लुगा लगाएर रातभर भोजपुरी गीतमा युवती नाच्ने र उक्त नृत्य हेर्नेको हिजोसम्म घुइचो लागेको थियो।
नेपाल तथा भारतका हजारौं दर्शनार्थी आउने मेलामा तीन दिनसम्म नग्न नृत्य देखाउनुले धार्मिक मूल्य र मान्यताकै खिल्ली उडाइएको भन्दै मन्दिर व्यवस्थापन समितिको तीव्र आलोचना भएको छ।

