भक्तपुरको एक बाल गृहबाट ८ बालबालिकाको उद्धार, मापदण्ड विपरीत सञ्चालन भएको खुलासा

cp new add
Nisharg hospital
suchana
Nast new

काठमाडौँ । राष्ट्रिय बाल अधिकार परिषद्ले भक्तपुरको एक बाल गृहबाट आठ जना बालबालिकाको उद्धार गरेको छ । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोलमा सञ्चालित ‘मुस्कान सेवा नेपाल’ नामक बाल गृहबाट २ बालक र ६ बालिका गरी जम्मा ८ जना बालबालिकालाई उद्धार गरिएको हो ।

परिषद्का अनुसार उक्त बाल गृहले बाल गृह सञ्चालन सम्बन्धी मापदण्डको पूर्ण पालना नगरेको र त्यहाँ आश्रित बालबालिकाहरू जोखिममा पर्न सक्ने सम्भावना देखिएकाले जेठ २८ गते उनीहरूको उद्धार गरिएको हो । सूर्यविनायक नगरपालिका र बालबालिका खोजतलास समन्वय केन्द्रको प्रत्यक्ष समन्वय र सहयोगमा बालबालिकाहरूलाई उद्धार गरी सुरक्षित स्थानमा पुनःस्थापना गरिएको परिषद्ले जनाएको छ ।

बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दद्वारा जारी विज्ञप्तिमा बालबालिका सम्बन्धी ऐन, २०७५ र सम्बन्धित नियमावली एवं मापदण्डहरू पालना नगरी बाल गृह सञ्चालन गर्नु कानुन विपरीत रहेको उल्लेख गरिएको छ । ऐनको दफा ६६ को उपदफा (२) बमोजिम कानुन विपरीत बाल गृहमा बालबालिका राख्ने कार्यलाई हिंसा मानिने र यस्तो कार्य गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद हुन सक्ने कानुनी प्रावधान छ ।

परिषद्ले अनुमति नलिई वा तोकिएको मापदण्ड पुरा नगरी बाल गृह सञ्चालन नगर्न र गरिएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने चेतावनी दिएको छ । साथै, कतै मापदण्ड विपरीत बाल गृह सञ्चालन भएको पाइएमा तुरुन्त नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय वा राष्ट्रिय बाल अधिकार परिषद्मा जानकारी गराउन सर्वसाधारणलाई अपिल समेत गरिएको छ ।

स्थानीय बाल अधिकार समिति र बाल कल्याण अधिकारीहरूलाई पनि आआफ्नो क्षेत्रमा रहेका बाल गृहहरूको नियमित अनुगमन र निरीक्षण गरी प्रतिवेदन पेश गर्न परिषद्ले आग्रह गरेको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...