
हेटौँडा । २४ वर्षदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगमा नेपाली सेनाको प्राविधिक सहयोगमा प्रारम्भिक परीक्षण उत्पादन सफल भएको छ। सरकारले उद्योगको मर्मत सम्भार तथा पुनः सञ्चालनको जिम्मेवारी नेपाली सेनालाई दिएपछि शनिबार लुम सञ्चालन गरी परीक्षण उत्पादन गरिएको हो।

नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयका करिब ४० जना प्राविधिक तथा सैनिकले ४० दिनदेखि उद्योगका पुराना मेसिन, लुम र विद्युत् प्रणालीको मर्मत गरिरहेका थिए। परीक्षण उत्पादन सफल भएपछि उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सम्भावना बढेको उद्योग मन्त्रालयले जनाएको छ। उद्योग मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीका अनुसार दुई महिनाभित्र प्रारम्भिक उत्पादन परीक्षण गर्ने लक्ष्य राखिएकोमा निर्धारित समयमै परीक्षण सफल भएको हो। प्रारम्भिक कामका लागि सरकारले ३० लाख रुपैयाँ उपलब्ध गराएको थियो।
उद्योगमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगलाई प्राथमिकतामा राखेर चालु आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने बताएकी छन्। सरकारले गत असार १८ गते उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि प्रक्रिया अघि बढेको हो। यद्यपि दीर्घकालीन रूपमा उद्योग सञ्चालन गर्न नयाँ मेसिनरी खरिद र ठूलो स्तरको सुधार आवश्यक पर्ने नेपाली सेनाका प्राविधिकहरूको आकलन छ। सेनाले गरेको विस्तृत सम्भाव्यता अध्ययनअनुसार उद्योग पुनः सञ्चालनका लागि प्रारम्भिक रूपमा करिब १ अर्ब ९३ करोड रुपैयाँ र वार्षिक सञ्चालन खर्च करिब ७८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
कार्यदलले उद्योग सञ्चालनमा आएको करिब ९ वर्षपछि लागत प्रतिस्थापन गरी नाफामा जान सक्ने निष्कर्ष निकालेको छ। उद्योग सञ्चालनमा आए नेपालमै कपडा उत्पादन बढ्नुका साथै आत्मनिर्भरतातर्फ सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

