धनगढीमा अन्तरजातीय प्रेमको रहस्य खुलेपछि किशोरको मृत्यु : आमासहित प्रेमिका पक्राउ
घरबेटीकै छोरीसँग प्रेम


धनगढी । धनगढीमा मृत अवस्थामा भेटिएका १८ वर्षीय बिराज ताम्राकारको मृत्युबारे विभिन्न खालका टिप्पणी भइरहेका छन्। कञ्चनपुरको कृष्णपुर नगरपालिका घर भई धनगढीमा डेरा गरी बस्दै आएका ताम्राकार गत बुधबार कोठामै मृत अवस्थामा भेटिएका थिए।

उनको मृत्यु भवितव्य नभई हत्या भएको भन्दै दलित अभियन्ताहरूले दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्। धनगढीकै एक विद्यालयबाट एसईई दिएका ताम्राकारले ए प्लस ग्रेड ल्याएर कक्षा ११ मा अध्ययन गरिरहेका थिए।
विशालनगरमा सुवेदी थरका व्यक्तिको घरमा डेरा गरी अध्ययन गर्दै आएका ताम्राकार उनकै छोरीसँग प्रेम सम्बन्धमा थिए। उनी सोही घरको कोठामा मृत अवस्थामा भेटिएपछि घटनालाई विभिन्न कोणबाट विश्लेषण गरिएको थियो।
घटनापछि कैलाली प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दामा ताम्राकारकी १६ वर्षीया प्रेमिका र उनकी आमालाई पक्राउ गरेको छ। असार १२ गते पक्राउ परेका उनीहरूलाई नियन्त्रणमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिएका छन्।
स्रोतका अनुसार किशोरीका परिवारले ताम्राकार र उनीबीच प्रेम सम्बन्ध रहेको थाहा पाएपछि सम्झाइबुझाइ गरेका थिए। त्यसपछि किशोरी र ताम्राकारबीच दूरी बढेको थियो। दुई जनाको प्रेम सम्बन्धबारे परिवारलाई जानकारी भएपछि गरिएको सम्झाइबुझाइका कारण किशोरीबाट धोका पाएको आशंकामा स्वयं ताम्राकारले मृत्युको बाटो रोजेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
शव परीक्षण प्रतिवेदनमा पनि ताम्राकारको झुन्डिएको अवस्थामा मृत्यु भएको उल्लेख भए पनि अन्य विवरण खुल्न नसकेको प्रहरीको भनाइ छ। तर, किशोर–किशोरीबीचको प्रेम सम्बन्ध, परिवारलाई त्यसबारे जानकारी हुनु तथा अन्तरजातीय प्रेम सम्बन्धजस्ता पक्षलाई ध्यानमा राख्दै घटनाको संवेदनशील रूपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले तथ्यका आधारमा घटनाको अन्य कोणबाट समेत विश्लेषण गरिरहेको जनाएको छ।
