
महोत्तरी प्रहरीले करिब ४८७ किलो १०८ ग्राम प्रतिबन्धित लागूऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ। गाँजा ओसारपसारमा प्रयोग गरिएको ट्रकसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार असार २० गते बिहान एकडारा गाउँपालिका–१ भटौलियामा ना ३ ख ६५२२ नम्बरको ट्रकमा खानतलासी गर्दा प्लास्टिकमा प्याक गरिएको ४० किलो ३६० ग्राम गाँजा बरामद भएको थियो। पक्राउ परेकाहरूको बयानका आधारमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
अनुसन्धानकै क्रममा सोही दिन साँझ महोत्तरी गाउँपालिका–४ रानी रतवाडास्थित एक घरमा छापा मार्दा थप ४४६ किलो ७४८ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ। घरभित्र ३५ वटा प्लास्टिकका पोकामा प्याक गरी लुकाएर राखिएको अवस्थामा उक्त गाँजा फेला परेको थियो।
दुवै स्थानबाट बरामद गरिएको गाँजाको कुल परिमाण ४८७ किलो १०८ ग्राम पुगेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–६ का २१ वर्षीय विपस नेगी (ट्रक चालक) र खोटाङको ऐंसेलुखर्क गाउँपालिका–१ का २४ वर्षीय साधुराम थिङ पक्राउ परेका छन्।
पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। साथै, घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा समेत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

