
बैतडीको मेलौली नगरपालिका–१ सिटाडमा आइतबार बिहान घर भत्किँदा तीन जना घाइते भएका छन्।

बिहान करिब ४:०५ बजे सुने पार्कीको दुईतले घरको तल्लो भाग भत्किँदा घरभित्र रहेका १८ वर्षीया मनीषा पार्की, १२ वर्षीया चाँदनी पार्की र २२ वर्षीया प्रिया पार्की घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सिनाका अनुसार घाइतेमध्ये प्रियाको अवस्था मध्यम छ भने मनीषा र चाँदनीको अवस्था सामान्य रहेको छ।
घाइते तीनै जनालाई उपचारका लागि मेलौलीस्थित केशरपुर स्वास्थ्य चौकी पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए।

