
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) नियन्त्रण अभियान प्रभावकारी बन्दै जाँदा पछिल्ला चार वर्षमा बिरामीको सङ्ख्या उल्लेखनीय रूपमा घटेको छ। उपचार सेवा विस्तार, निःशुल्क परीक्षण तथा औषधि, दक्ष स्वास्थ्यकर्मीको उपलब्धता, सङ्क्रमितको सक्रिय खोजपड्ताल र रोग सार्ने भुसुनाको निगरानीका कारण संक्रमण क्रमशः नियन्त्रणमा आएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, दिपायलका कीट नियन्त्रण निरीक्षक हेमराज जोशीका अनुसार विगतमा कालाजारको उपचार धनगढीमा मात्रै उपलब्ध भए पनि अहिले अधिकांश प्रादेशिक तथा जिल्ला अस्पतालमै परीक्षण र उपचारको सुविधा पुगेको छ। स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि, आवश्यक औषधि, परीक्षण किट र दक्ष जनशक्तिको व्यवस्थापनले उपचार सेवामा सहजता आएको उनले बताए।
तथ्याङ्कअनुसार सुदूरपश्चिममा सन् २०२३ मा ६३ जना कालाजारका बिरामी भेटिएकामा सन् २०२४ मा ४६, सन् २०२५ मा २६ र सन् २०२६ को जुलाई ९ सम्म १३ जना मात्रै सङ्क्रमित फेला परेका छन्। राष्ट्रिय स्तरमा भने सन् २०२३ मा २४९, सन् २०२४ मा ३१८, सन् २०२५ मा २४९ र सन् २०२६ को जुलाई ९ सम्म ११५ जना सङ्क्रमित पुष्टि भएका छन्।
जोशीका अनुसार कालाजार ‘लिस्मानिया’ नामक परजीवीबाट हुने किटजन्य सरुवा रोग हो, जुन ‘फ्लेबोटोमस अर्जेन्टाइपिस’ नामक सङ्क्रमित भुसुनाले टोकेपछि सर्छ। यसको सबैभन्दा गम्भीर प्रकार ‘भिसेरल लिस्मानियासिस’ले कलेजो, प्लीहालगायत शरीरका भित्री अङ्गमा असर पुर्याउने भएकाले समयमै उपचार नभए ज्यानसमेत जान सक्छ।
कालाजारका अन्य प्रकारमा छालामा घाउ र दाग बनाउने ‘कटेनियस लिस्मानियासिस’, नाक, मुख र घाँटीको म्युकस झिल्लीमा असर गर्ने ‘म्युकोकुटेनियस लिस्मानियासिस’ तथा रोग निको भएपछि छालामा दाग वा बिमिरा देखिने ‘पोस्ट कालाजार डर्मल लिस्मानियासिस’ पनि पर्छन्। पछिल्लो अवस्थाले समेत रोगको संक्रमण फैलाउन भूमिका खेल्न सक्ने भएकाले सचेतना आवश्यक रहेको जोशीले बताए।
लगातार लामो समयसम्म ज्वरो आउने, तौल घट्ने, शरीर कमजोर हुने, रगतको कमी देखिने, कलेजो वा प्लीहा ठूलो हुने, छालामा घाउ वा दाग देखिने तथा नाक–मुखभित्र घाउ देखिएमा तत्काल स्वास्थ्य संस्थामा परीक्षण गराउन उनले आग्रह गरे। समयमै उपचार गरे कालाजार पूर्ण रूपमा निको हुने उनको भनाइ छ।
स्वास्थ्य निर्देशनालयका अनुसार भुसुनाको टोकाइबाट जोगिनु नै कालाजार रोकथामको सबैभन्दा प्रभावकारी उपाय हो। झुल प्रयोग गर्ने, शरीर ढाक्ने लुगा लगाउने, घर वरिपरिको झाडी सफा गर्ने, भित्ताका चिरा टाल्ने तथा आवश्यक परे कीटनाशक औषधि छर्कने उपाय अपनाउन सुझाव दिइएको छ।
जोशीका अनुसार अहिले वर्षायामको सुरुआत भएकाले बिरामीको सङ्ख्या कम देखिए पनि वर्षा र त्यसपछिको मौसममा संक्रमण बढ्न सक्ने जोखिम रहन्छ। विशेषगरी जनवरीदेखि अक्टोबरसम्म कालाजारका बिरामी बढी देखिने गरेका छन्।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सहयोगमा गरिएको अध्ययनले सुदूरपश्चिमका नौ जिल्लाका ८८ स्थानीय तहमध्ये करिब आधा क्षेत्रमा कालाजार सार्ने भुसुना फेला परेको देखाएको छ।
सन् २०२५ मा प्रदेशमा सबैभन्दा बढी ११ जना कालाजारका बिरामी कैलालीमा भेटिएका थिए भने त्यसपछि कञ्चनपुरमा संक्रमण देखिएको थियो। हाल सबै जिल्ला अस्पतालमा कालाजारको परीक्षण, औषधि र उपचार निःशुल्क उपलब्ध रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। आवश्यक औषधि र परीक्षण किट डब्लुएचओको सहयोगमा उपलब्ध गराइँदै आएको छ।

