
धनगढी । रसुवाको भोटेकोशीमा मंगलबारको भीषण बाढीमा परेर सुदूरपश्चिम प्रदेशका झन्डै एक सय नागरिक सम्पर्कविहीन भएको प्रारम्भिक विवरण आएका छन् ।

कैलाली, कञ्चनपुरसहितका जिल्लाका गरेर करीब एक सय आसपासको संख्यामा मानिसहरु सम्पर्कविहीन भएको पाइएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले अहिलेसम्म ९० जना नागरिक प्रभावित क्षेत्रबाट सम्पर्कविहीन भएको विवरण प्राप्त भएको जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) पदमबहादुर बिष्टले विभिन्न प्रहरी कार्यालयमा प्राप्त जानकारीअनुसार अहिलेसम्म ९० जना सम्पर्कविहीन रहेको खुलेको जानकारी दिए ।
उनकाअनुसार सबैभन्दा धेरै कञ्चनपुरका २९, कैलालीका २०, डडेल्धुराका १५, बाजुराका १४, बैतडीका चार, दार्चुला तीन, डोटीका दुई, बझाङका दुई र अछामका एक जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ ।
उनीहरुमा चार जना प्रहरी कर्मचारी रहेका छन् । सम्पर्कविहीन हुने प्रहरी कर्मचारीमा प्रहरी हवलदार नरेन्द्र प्रसाद भट्ट, प्रहरी सहायक हवलदार हिक्मत महरा, प्रहरी जवान नारद सार्की र सशस्त्र प्रहरी जवान बिनिता बोहरा रहेको एसएसपी बिष्टले बताए ।
प्रहरीकाअनुसार सम्पर्कविहीन हुनेमा रसुवामा विभिन्न हाइड्रो पावरमा काम गर्ने मजदुर, प्रहरी, निजामती कर्मचारी र तथा विभिन्न निजी क्षेत्रमा कार्यरत कर्मचारी रहेका छन् ।
बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन भएका व्यक्तिको विवरण टिपाउन प्रहरीले आफन्तलाई अनुरोध गरेको छ । अहिले सम्बन्धीत व्यक्तिका आफन्तले विवरण टिपाउने काम गरिरहेका छन् । बाढीमा सम्पर्कविहीन हुनेको संख्या बढ्न सक्ने अनुमान प्रहरीले गरेको छ ।

