
धनगढी । बझाङको केदारस्युँ गाउँपालिका–७ स्थित सुगरेमा शनिबार भएको बोलेरो जिप दुर्घटनामा मृत्यु हुने र घाइते हुने सबैको परिचय खुलेको छ।

दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित १३ जना घाइते भएका छन्।
बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार बिजगडाबाट सुगरे हुँदै दुर्गाथलीतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ च २६४४ नम्बरको बोलेरो जिप करिब ३०० मिटर तल खसेर दुर्घटनामा परेको हो। जिप केदारस्युँ गाउँपालिका–७ काडाचौरका ३५ वर्षीय देवेन्द्र धामीले चलाएका थिए।
डीएसपी जोराले दुर्घटनामा केदारस्युँ–७ काडाचौरकी करिब ३५ वर्षीया बिमला धामी, दुर्गाथली गाउँपालिका–६ चुहावनकी ६० वर्षीया केला देवी महत र सोही ठाउँका ६० वर्षीय चक्र महतको घटनास्थलमै मृत्यु भएको जानकारी दिए।
उनका अनुसार दुर्घटनामा चालक देवेन्द्र धामीसहित रामबहादुर महत (४८), वीरबहादुर जाग्री (१९), झल्का देवी महत (३०), जयमती महत (३१) र हर्का देवी महत (३८) गम्भीर घाइते भएका छन्।
यस्तै नवराज धामी (३०), दिपेन्द्र जाग्री (३०), रमेश धामी (३०), धनसेर जाग्री (२२), हासुली महत (४०), गौमती देवी महत (३२) र इन्द्र महत (५०) मध्यम अवस्थाका घाइते रहेको प्रहरीले जनाएको छ।
डीएसपी जोराका अनुसार दुर्घटनाको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, विभिन्न अस्थायी प्रहरी पोस्ट तथा सशस्त्र प्रहरी बलबाट संयुक्त उद्धार टोली परिचालन गरिएको थियो।
सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर समेत उद्धारका लागि पठाइए पनि खराब मौसमका कारण घटनास्थलमा अवतरण गर्न नसकेको उनले बताए।
प्रहरीका अनुसार हेलिकोप्टरले दुई पटक अवतरण प्रयास गरे पनि मौसम प्रतिकूल भएपछि जयपृथ्वी नगरपालिका–३ स्थित पानकोट ब्यारेकमा अवतरण गरेको थियो।
त्यसपछि घाइतेहरूको एम्बुलेन्स तथा अन्य सवारी साधनमार्फत उद्धार गरी जिल्ला अस्पताल बझाङ पठाइएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

