
धनगढी । कैलालीमा होटलमा राखेर जबरजस्तीकरणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रहरीकाअनुसार १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा बैतडीका युवक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका–१ बस्ने २० वर्षीय राजेश धामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
उनकाअनुसार धामीले २४ असारमा ती किशोरीलाई घरबाट अत्तरिया बोलाई एक होटलमा राखेर जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो ।
धामीलाई सोमबार धनगढी उपमहानगरपालिका–८ को क्याम्पस चोकबाट पक्राउ गरिएको थियो ।
उनलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

