
धनगढी । कैलाली र कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याइएका दुई लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सामान प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–३ स्थित त्रिनगर ब्यारेल क्षेत्रमा बेवारिसे अवस्थामा फेला परेका अन्दाजी ६३ हजार १०० रुपैयाँ बराबरका धोती, किराना लगायतका सामान सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो। उक्त सामान भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएको प्रहरीको भनाइ छ।
यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकी क्षेत्रमा पनि भारतबाट भन्सार छली गरी ल्याइएका अन्दाजी १ लाख ४३ हजार ५०० रुपैयाँ बराबरका सुटपिस, ब्लाउज, अन्डरवेयर, पानीवर्साती लगायतका सामान बेवारिसे अवस्थामा फेला परेका छन्।
इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले उक्त सामान नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
दुवै जिल्लामा बरामद गरिएका सामानको कुल अनुमानित मूल्य २ लाख ६ हजार ६०० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

