
धनगढी । कैलालीका विभिन्न स्थानबाट खैरो हेरोइन जस्तो देखिने लागूऔषधसहित चार जना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको टोलीले लम्कीचुहा नगरपालिका–३ चिसापानीस्थित एक होटलमा चेकजाँच गर्ने क्रममा २०० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित लम्कीचुहा–१ बसपार्कका २९ वर्षीय राजेश खत्री र २७ वर्षीय ललित बिष्टलाई शनिबार दिउँसो पक्राउ गरेको हो।
त्यसैगरी, इलाका प्रहरी कार्यालय लम्कीको टोलीले लम्कीचुहा नगरपालिका–४ बलिया बजारबाट २२ वर्षीय धिरज चौधरीलाई २०० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित शनिबार बेलुकी पक्राउ गरेको प्रहरीले जनाएको छ।
यस्तै, इलाका प्रहरी कार्यालय जोशीपुरबाट खटिएको प्रहरीले जोशीपुर गाउँपालिका–१ लकडमन्डीमा चेकजाँचका क्रममा जोशीपुर गाउँपालिका–२ का २८ वर्षीय अम्मरदिप डगौरालाई ८८० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरेको छ।
तीनवटै घटनामा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

