
दार्चुलाको लेकम गाउँपालिका–६ गणेतका २४ वर्षीय शंकर सार्की (खनाल) को भिरबाट लडेर मृत्यु भएको छ।

स्थानीय गोबी सार्कीका छोरा शंकर साउन १ गते राति गोकुलेश्वर बजारबाट घर फर्किने क्रममा घर नजिकै रहेको भिरबाट लडेर रिठेगाढ खोलामा पुगेका थिए। रातिको समयमा घटना भएको र उनी खोलामा घाइते अवस्थामा रहेको थाहा हुन नसकेको बताइएको छ।
शनिबार बिहान स्थानीयवासीले रिठेगाढ खोलामा घाइते अवस्थामा फेला पारेपछि तत्काल उद्धार गरी गोकुलेश्वर अस्पताल पुर्याएका थिए। अस्पतालमा प्रारम्भिक उपचारका क्रममा उनको टाउकोमा गम्भीर चोट लागेको चिकित्सकले बताएका थिए।
गोकुलेश्वर अस्पतालमा आवश्यक उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि धनगढी रेफर गरिएको थियो। तर एम्बुलेन्समार्फत धनगढी ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।
घटनापछि गाउँमा शोक छाएको छ। घटनाबारे सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ।

