टर्चको भरमा सुत्केरी सेवा दिँदै बैतडीको कोटपेटरा स्वास्थ्य चौकी

cp new add
Nisharg hospital

बैतडीको डिलाशैनी गाउँपालिका–२ स्थित कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् सेवा अवरुद्ध भएपछि स्वास्थ्यकर्मी टर्चलाइटको भरमा सुत्केरी सेवा दिन बाध्य भएका छन्।

Nast Ad

स्थानीयका अनुसार स्वास्थ्य चौकीमा करिब एक–दुई महिनादेखि विद्युत् सेवा बन्द छ। यसअघि लघु जलविद्युत्बाट विद्युत् आपूर्ति हुँदै आएको भए पनि लाइन बिग्रिएपछि समस्या समाधान हुन सकेको छैन। २४सै घण्टा सञ्चालन हुने स्वास्थ्य चौकीमा रातिको समयमा सुत्केरी सेवा सञ्चालन गर्न निकै कठिनाइ भइरहेको छ।

रातिको समयमा सुत्केरी आएमा स्वास्थ्यकर्मीले टर्च चार्ज गर्न ३० देखि ४० मिनेट पैदल हिँड्नुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन्। यसले सुरक्षित मातृत्व सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न थप चुनौती सिर्जना गरेको उनीहरूको भनाइ छ।

कठिन परिस्थितिका बीच पनि स्वास्थ्यकर्मीले सेवा निरन्तर दिइरहेका छन्। तर आधारभूत पूर्वाधार व्यवस्थापनमा सम्बन्धित निकाय र जनप्रतिनिधिको ध्यान नपुगेको भन्दै स्थानीयले गुनासो गरेका छन्।

स्थानीयले बैतडीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरिमोहन भण्डारीसँग विद्युत् समस्या समाधानका लागि आवश्यक पहल गर्न आग्रह गरेका छन्। विद्युत् मर्मतको ठेक्का भारतीय कम्पनीले पाएको र तीन जिल्लाको जिम्मेवारी एउटै कम्पनीसँग रहेकाले संघीय सरकारको समन्वय र दबाब आवश्यक रहेको उनीहरूको भनाइ छ।

स्थानीयका अनुसार डिलाशैनी गाउँपालिकाका अन्य वडामा समेत विद्युत् सेवा सहज रूपमा पुग्न सकेको छैन। विद्युत् समस्या तत्काल समाधान नभए स्वास्थ्य चौकीको सेवा थप प्रभावित हुने भन्दै उनीहरूले सम्बन्धित निकाय र जनप्रतिनिधिलाई शीघ्र पहल गर्न आग्रह गरेका छन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...