
धनगढी । कञ्चनपुर प्रहरीले लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बिहीबार बिहान करिब ११ बजे इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडाबाट खटिएको संयुक्त टोलीले बेलौरी नगरपालिका–१० सडकघाट क्षेत्रमा शंकास्पद रूपमा आउँदै गरेको डिक्सर मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा बेलडाँडी गाउँपालिका–१ निवासी २४ वर्षीय रोकेश राना र बेलौरी नगरपालिका–९ अण्डैया निवासी २५ वर्षीय गुड्डु राना रहेका छन्।
उनीहरू सवार म१ प ५१५० नम्बरको डिक्सर मोटरसाइकल जाँच गर्दा १ ग्राम ५१० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।
लागूऔषध र मोटरसाइकल बरामद गरी दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

