
धनगढी । २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ।

शनिबार बिहान धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाको २११ नम्बर कोठामा पुगेर सेती प्रादेशिक अस्पतालका चिकित्सक डा. गजेन्द्र दुवालले उनको स्वास्थ्य परीक्षण गरेका हुन्।
परीक्षणका क्रममा डा. केसीको रक्तचाप ११०/९० र रगतमा सुगरको मात्रा ५० मापन भएको चिकित्सकले बताएका छन्। सुगरको मात्रा अत्यन्त न्यून रहेकाले स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको भन्दै चिकित्सकले तत्काल सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरी उपचार गर्न सुझाव दिएका छन्।
यद्यपि, डा. केसीले उक्त सुझावबारे आफूले विचार गर्ने बताएका छन्। बिहीबारदेखि पाँचबुँदे माग राखेर सत्याग्रहमा बसेका डा. केसीको स्वास्थ्य निरन्तर कमजोर बन्दै गएको उनका सहयोगी अमृत जैशीले जानकारी दिए।
उनका अनुसार स्वास्थ्य अवस्था बिग्रिँदै जाँदा मांसपेशी बाउडिने, बोल्न असहज हुने, खुट्टाको शल्यक्रिया भएका कारण हिँडडुल गर्न कठिन हुने तथा शौचालयसम्म जानसमेत समस्या भइरहेको छ।
उता, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले डा. केसीका माग सम्बोधन गर्न सकारात्मक रहेको बताएका छन्। शुक्रबार साँझ मन्त्री पोखरेलले डा. केसीका सहयोगी अमृत जैशीसँग छलफल गरेका थिए भने राति करिब ११ बजे डा. केसीसँग पनि टेलिफोन संवाद गरेका थिए।
संवादका क्रममा मन्त्री पोखरेलले माग सम्बोधनका लागि सरकार प्रतिबद्ध रहेको बताएका थिए। त्यसक्रममा डा. केसीले आफ्नो पाँचबुँदे मागसँगै शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल ३०० शैयाको अस्पताल सञ्चालन, चिकित्सा शिक्षाको अध्ययन सुरु तथा स्वार्थप्रेरित ढंगले गरिएको उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज हुनुपर्ने आफ्नो मुख्य अडान रहेको बताएका थिए।
मन्त्री पोखरेलले ती विषयमा वार्ता टोली गठन गर्ने र आवश्यक परे आफू नै धनगढी आउने प्रतिबद्धता जनाएको सहयोगी डा. जैशीले बताए।

