
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग ‘अहिले छलफल मात्र गर्नेु भनेर गएका नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का संयोजक पुष्पकमल दाहाल’ प्रचण्डु ले प्रदेश सरकार गठन र सञ्चालनबारे लिखित सम्झौता नै गरेपछि सहसंयोजक माधवकुमार नेपाल असन्तुष्ट बनेका छन्।

ओलीसँगको भेटमा प्रदेशहरूबारे छलफल मात्र हुने, अहिले नै कुनै ठोस सहमति नहुने भनेर प्रचण्डले नेपाललाई भनेको नेपाल निकट एक नेताले जानकारी दिए। तर, प्रचण्डले एक्कासि प्रदेश सरकार भागबन्डाको ३ बुँदे सम्झौता गरेपछि नेता नेपाल ‘फायरु भएका हुन्।
माधव नेपाल निकट एक ती नेताका अनुसार, प्रचण्डको यो कदमले पार्टीभित्र गम्भीर राजनीतिक असन्तोष पैदा गरेको छ।
‘सामान्य राजनीतिक संवादका लागि भनेर ओलीसँग भेट्न जानुभएका संयोजक प्रचण्डले एक्कासि प्रदेश सरकारहरूको भागबन्डा गरेर लिखित सम्झौता नै गर्नुभएछ,’ नेपाल निकट ती नेताले भने, ‘अनावश्यक रूपमा सत्तामोह देखिने गरी प्रचण्डजीले ओलीसँग गरेको यो हतारोको सम्झौताले कुनै पनि कोणबाट पार्टीको हित गर्दैन।’
ओलीसँग भेट्न जानुअघि प्रचण्ड र नेपालबीच छलफल भएको थियो। त्यसक्रममा नेपालले नेपाली कांग्रेससँग अझै संवाद गरेर सहमतिका सूत्रहरू खोज्नुपर्ने र अहिलेको अवस्थामा ओलीसँग मात्रै सम्बन्ध बढाउने तर कांग्रेससँग दूरी बढाउने कुरा मुलुकका लागि प्रत्युत्पादक हुन सक्ने बताएका थिए। जबाफमा प्रचण्डले अहिले ओलीसँग थप छलफल गर्ने भनेर नेपाललाई भनेको ती नेता बताउँछन्।
‘माधवजी मात्रै होइन, नेकपाको ठूलो पंक्ति प्रचण्डको कदमले फायर बनेको छ,’ ती नेताले भने, ‘हिजोको एकीकृत समाजवादी वृत्त मात्रै होइन माओवादी वृत्त पनि खुसी छैन। ‘ती नेताले भने जस्तै नेकपाका धेरै नेताहरूले ओली प्रचण्डको सम्झौताप्रति असन्तोष प्रकट गरिरहेका छन्।
नेकपा युवा नेता नरेश शाहीले कमिटीगत रूपमा निर्णयबिनै हुने सहमतिहरू व्यक्तिगत तहका सहमति बन्ने भनेर सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन् । प्रचण्डको यो कदम मात्रै होइन अभिव्यक्तिमा देखिएको विरोधाभासले पनि पार्टीभित्र असन्तुष्टि देखाएको छ।
साउन ८ गते आयोजित पुष्पलाल स्मृति दिवसको ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीमा प्रचण्डले सरकार बनाउने र ढाल्ने खेलमा लागे उठ्नै नसक्ने गरी थचारिन सकिने चेतावनी दिएका थिए। तर, उक्त अभिव्यक्ति दिएको २४ घण्टा नबित्दै प्रचण्ड ओलीसँग प्रदेश सरकारहरू ढाल्ने र नयाँ समीकरण बनाउने लिखित सहमतिमा हस्ताक्षर गर्न पुगे।
सोही विचार गोष्ठीमा बोल्दै प्रचण्डले विगतका गल्तीबाट पाठ सिक्नुपर्ने भन्दै ठूला गफ छाडेर काममा लाग्नुपर्ने बताएका थिए।
‘हामीले पहिलेजस्तै अब फेरि सरकार बनाउने र गिराउने खेलतिर लाग्यौं भने अर्को प्रतिक्रान्ति क्रममा हामी सबै उठ्नै नसक्ने गरी थचारिन पनि सकिन्छु’, प्रचण्डको भनाइ थियो।
यद्यपि, सोही कार्यक्रममा उनले प्रदेश सभाहरूमा बजेटका क्रममा कांग्रेस र एमालेबीच उत्पन्न किचलोलाई औंल्याउँदै प्रदेशहरूलाई बर्बाद हुन नदिन तत्कालका लागि कार्यगत एकता र सहकार्य सम्भव रहेको छनक भने दिएका थिए।
शनिबार एमाले अध्यक्ष ओली र नेकपा संयोजक प्रचण्डबीच भएको ३ बुँदे सहमति अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने तय भएको छ। यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशको कमान्ड नेकपालाई सुम्पिने सहमति भएको छ भने मधेस र गण्डकी प्रदेशमा प्रदेश सभामा रहेका अन्य दलहरूसँग परामर्श गरी नेतृत्व र सहभागिताको स्वरूप निर्धारण गर्ने उल्लेख छ।
बजेट निर्माणमा देखिएका असमझदारी, बजेटविहीनताको स्थिति र अस्वस्थ राजनीतिक प्रतिस्पर्धा अन्त्य गर्दै प्रादेशिक विकास र सुशासनलाई तीव्रता दिन यो कदम चालिएको दुवै दलको दाबी छ। प्रचण्डले प्रदेश सत्ताको साँचो ओलीसँग साटासाट गरेपछि माधव नेपाल पक्ष भने सशंकित बनेको छ। पार्टीभित्र पूर्वछलफल र सहमति बिना नै सिधै लिखित सम्झौता गरेर फर्केका प्रचण्डको शैलीप्रति नेपाल पक्षले कडा आपत्ति जनाएको छ।
यसले एकातिर कांग्रेससँगको दूरी बढाउने र अर्कोतिर एमाले अध्यक्ष ओलीको रणनीतिक पासोमा परिने चिन्ता नेपाल पक्षीय नेताहरूले व्यक्त गरेका छन्।

