
धनगढी । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेस स्टडिज्(एमबीएस)प्रथम सेमेस्टरको प्रश्नपत्र लिक प्रकरणमा कैलालीका एक जना पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रश्नपत्र सार्वजनिक गर्ने समूहसँग सम्बन्धित आरोपमा महेन्द्रनगरबाट घोडाघोडी नगरपालिका–११ का ३३ वर्षीय सन्दीप सिंहलाई पक्राउ गरेको हो । सिंह काठमाडौंको केएमसी कलेज, बागबजारमा व्यवस्थापन संकायका शिक्षक रहेको खुलेको छ। उनीमाथि शिक्षा ऐन, २०२८ अन्तर्गत प्रश्नपत्रको गोपनीयता भंग गरेको कसुरमा अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार साउन ८ गते भएको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र ह्वाट्सएपमार्फत बाहिरिएको थियो। प्रारम्भिक अनुसन्धानले पक्राउ परेका दुवै जना प्रश्नपत्र सार्वजनिक गर्ने समूहका ‘बीचका व्यक्ति’ रहेको देखिए पनि उनीहरूले प्रश्नपत्र कहाँबाट प्राप्त गरे भन्ने विषयमा अनुसन्धान जारी छ।
सीआईबीका प्रवक्ता एसएसपी अनुपम राणाले अनुसन्धानकै क्रममा रहेकाले पक्राउ परेकाहरूको भूमिकाबारे अहिले नै विस्तृत जानकारी दिन नमिल्ने बताए।
प्रहरीका अनुसार प्रश्नपत्र सुरुमा ‘सुलभ सर’ नाम प्रयोग गरिएको ह्वाट्सएप समूहमार्फत सार्वजनिक भएको थियो। उक्त समूहमा एक हजार २३ जना सदस्य रहेका थिए।

