
कैलालीको गौरीगंगा नगरपालिकाबाट १० ग्राम ८०० मिलिग्राम लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार साउन १२ गते दिउँसो करिब ३ बजे गौरीगंगा नगरपालिका–४ बझाङ्गी टोलस्थित २५ वर्षीय सुरेन्द्रबहादुर धामीको घरमा खानतलासी गर्दा लागुऔषध बरामद गरेको हो ।
प्रहरीले घरको सुत्ने कोठामा रहेको बेडमुनि लुकाएर राखिएको १० ग्राम ८०० मिलिग्राम लागुऔषध फेला पारेको जनाएको छ। सो क्रममा गौरीगंगा नगरपालिका–१ लठैया निवासी २१ वर्षीय सन्तोष रानामगर बेडमा बसिरहेको अवस्थामा फेला परेका थिए।
खानतलासीका क्रममा प्रहरीले ३७ हजार १५० रुपैयाँ नगद पनि बरामद गरेको छ। बरामद लागुऔषध र नगदसहित सुरेन्द्रबहादुर धामी र सन्तोष रानामगरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको छ

