सुनसरी घटनाबारे रवि लामिछाने : विवादको समाधान हिंसा र मुठभेडबाट हुन सक्दैन

cp new add
Nisharg hospital

काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने सुनसरीलगायत तराईका जिल्लाहरूमा घटेका घटनाप्रति दुस्ख व्यक्त गर्दै ध्यानार्षण भएको जनाएका छन् ।

Nast Ad

मंगलबार विज्ञप्ति जारी गरी सभापति लामिछानेले घटनाले निम्त्याएको तनावपूर्ण परिस्थितिप्रति पार्टी मर्माहत भएको उल्लेख गरेका हुन् ।

‘सुनसरी लगायतका पूर्वी जिल्लामा हालै घटेको अत्यन्तै संवेदनशील र दुःखद घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गम्भीर ध्यानाकर्षण भएको छ। यस घटना र यसले निम्त्याएको तनावपूर्ण परिस्थितिप्रति सिङ्गो पार्टी पंक्ति स्तब्ध र मर्माहत भएको छ,’ उनले भनेका छन्, ‘यस दुःखद घडीमा, घटनामा परी ज्यान गुमाउनुहुनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं। साथै, घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्दछौं।’

उनले कुनै पनि समस्याको समाधान हिंसिा र मुठभेडबाट हुन नसक्ने उल्लेख गरेका छन् ।

‘कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट हुन सक्दैन भन्ने हाम्रो स्पष्ट मान्यता छ। नेपाली समाजको सबैभन्दा ठूलो शक्ति र सौन्दर्य भनेकै हाम्रो बहुलवादी संस्कृति, आपसी एकता, सहिष्णुता र सदियौंदेखिको सामाजिक सदभाव हो,’ विज्ञप्तिमा उल्लेख छ, ‘यसलाई खलबलाउने, साम्प्रदायिक वा सामाजिक सहिष्णुतामा खलल पुर्‍याउने गरी कुनै पनि गतिविधि नगर्नरनगराउन हामी सम्पूर्ण आम नागरिक, नागरिक अगुवा, धार्मिक तथा सामाजिक व्यक्तित्वहरू र सरोकारवाला पक्षहरूमा हार्दिक अपिल गर्दछौं।’

उनले कुनै प्रकारका उत्तेजना र अफवाहको पछि नलागी उच्च संयमता अपनाउनु नै अहिलेको प्रमुख आवश्यकता भएको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘यस संवेदनशील परिस्थितिमा तत्काल शान्ति सुरक्षा कायम गर्न, आम नागरिकको जिउधनको रक्षा गर्न र परिस्थितिलाई सामान्यीकरण गर्न हामी नेपाल सरकार र स्थानीय प्रशासनसँग निरन्तर सहजीकरणमा छौं,’ उनले भनेका छन्, ‘साथै, यस घटनाको जरोसम्म पुग्ने गरी स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीउपर कडा कानुनी कारबाही गर्न र पीडित पक्षलाई उचित न्याय तथा राहत (क्षतिपूर्ति र निःशुल्क उपचार) उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं।’

त्यस्तै उनले रास्वपा शान्ति, न्याय र सामाजिक सदभावको पक्षमा सदैव अडिग रहेको भन्दै परिस्थितिलाई सामान्य बनाउन र आपसी संवादमार्फत् समस्याको शान्तिपूर्ण समाधान खोज्न पार्टीको तर्फबाट आवश्यक हरेक सकारात्मक भूमिका निर्वाह गर्न हामी निरन्तर छलफलमा रहेको बताएका छन् ।

यस घटनालाई राजनीतिकरण नगर्न पनि भनेका छन् । ‘यस अत्यन्तै संवेदनशील र दुःखद घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न हामी सबै राजनीतिक दल तथा सम्बद्ध पक्षहरूसँग विशेष आग्रह गर्दछौं,’ उनले भनेका छन्, ‘रास्वपाका स्थानीय समितिका सम्पूर्ण सदस्यहरु लगायत सम्पूर्णलाई शान्ति र सदभाव कायम राख्न सहयोगी भूमिका खेल्न यसै विज्ञप्तिमार्फत् विशेष निर्देशन दिइन्छ।’

यस्तो छ लामिछानेको विज्ञप्ति :

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...