
काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबिच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा वार्ता चलिरहेको छ । वार्ता सकारात्मक दिशातर्फ उन्मुख रहेको र आजै सहमति गर्ने प्रयास भइरहेको स्रोतको भनाइ छ ।

वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत ५४ वर्षीय राजकुमार पटेलको मृत्युपछि आफन्त र स्थानीयले गरेको तोडफोड तथा चिकित्सकमाथिको कुटपिटको घटनालाई लिएर देशभरका चिकित्सकहरू आन्दोलनमा रहेका हुन् ।
वार्तामा सहभागी नेपाल चिकित्सक संघका महासचिव डा. विश्वराज दवाडीले आन्दोलनरत चिकित्सक र स्वास्थ्य मन्त्रालयबिच भइरहेको वार्ता सकारात्मक दिशामा अघि बढेको र आजै साँझसम्म सहमति जुट्न सक्ने आशा रहेको बताए ।
नेपाल चिकित्सक संघले आन्दोलनका क्रममा आफ्ना प्रमुख पाँचवटा मागहरू अघि सारेको छ । जसअन्तर्गत चिकित्सकमाथि साङ्घातिक आक्रमण गर्ने दोषीहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गरिनुपर्ने, दुव्र्यवहारमा संलग्न प्रहरी अधिकारी (एसपी) को सरुवा हुनुपर्ने, स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षा ऐनका केही दफाहरू परिमार्जन गरिनुपर्ने र हाल उद्योग मन्त्रालय मातहत रहेको उपभोक्ता अदालतलाई स्वास्थ्य मन्त्रालय मातहत ल्याइनुपर्ने रहेका छन् । आक्रमणकारीमध्ये तीन जना पक्राउ परेको र दोषी एसपीको सरुवा भएको मौखिक जानकारी आएपनि लिखित पुष्टि हुन बाँकी रहेको संघले जनाएको छ ।
अहिले स्वास्थ्य मन्त्रालयका सचिव, मन्त्रीका सल्लाहकार र नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजाल, महासचिव डा। विश्वराज दवाडी तथा कोषाध्यक्ष डा. संयुक्त आचार्यसहितको टोलीबीच मन्त्रालयमै सघन छलफल भइरहेको छ ।
दवाडीले आन्दोलनलाई धेरै लम्ब्याउँदा बिरामीहरू नै मर्कामा पर्ने भएकाले सरकारले माग पूरा गरे आफूहरु आन्दोलन तत्काल फिर्ता हुने स्पष्ट पारे । डा. दवाडीले भने, ‘स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षा ऐनमा व्यवस्था भएका केही दफाहरू नमिलेकाले त्यसलाई मिलाउनु पर्नेछ । यस्तै उपभोक्ता अदालत अहिले उद्योग मन्त्रालय अन्तर्गत रहेको र त्यसलाई स्वास्थ्यमै ल्याउनुपर्छ भन्ने हाम्रा मागहरू हुन् । हामी मन्त्रालयमै छौँ , छलफल भइराखेको छ । आज बेलुकासम्म टुङ्गो लाग्छ कि भन्ने हामी आशावादी छौँ ।’
भिडियो फुटेजमा प्रस्ट देखिएका दोषीहरूलाई पक्राउ गर्न ढिलाइ भइरहेकोमा असन्तुष्टि जनाउँदै महासचिव डा। दवाडीले सरकारले चाँडै औपचारिक सम्झौता गरेमा स्वास्थ्य सेवा पूर्ण रूपमा सुचारु गर्न आफूहरू तयार रहेको बताए ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा।समिरकुमार अधिकारीले संघका मागहरुमा टेकेर छलफल जारी रहेको बताए ।

