
सुर्खेत । सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सामग्री प्रसारण गरी धार्मिक आस्था र सामाजिक सद्भावमा नकारात्मक असर पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ निवासी २४ वर्षीय समिर थापा रहेका छन्। उनले आफूलाई ‘पाथीभारा माता’ भनेर चिनाउँदै सामाजिक सञ्जालमा विवादास्पद भिडियो तथा फोटो सार्वजनिक गर्ने गरेको प्रहरीको आरोप छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट उनले सामाजिक सञ्जालको दुरुपयोग गर्दै आम नागरिकमा भ्रम सिर्जना गर्ने, धार्मिक आस्थामा आँच पुर्याउने तथा सामाजिक सद्भाव बिथोल्ने प्रकृतिका सामग्री प्रसारण गरेको पाइएपछि पक्राउ गरिएको हो।
प्रहरीको विशेष टोलीले साउन १३ गते राति करिब ८:३० बजे थापालाई नियन्त्रणमा लिएको हो। हाल उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले सामाजिक सञ्जालको प्रयोग गर्दा जिम्मेवार र सचेत हुन तथा कानुनविपरीतका भ्रमपूर्ण सामग्री उत्पादन वा प्रसारण नगर्न सबै नागरिकलाई अनुरोध गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं सूचना अधिकारी कविन्द्र सिंह बोहरा ले उक्त जानकारी दिएका छन्।

