
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट प्रवाह हुने भ्रमपूर्ण र मिथ्या सूचनाको पछि नलाग्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।

नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य तथा जुममार्फत कोशी र मधेस प्रदेशका विभिन्न तहका नेताहरूसँगको छलफलमा बोल्दै थापाले यस्तो बताएका हुन्।
जिम्मेवार राजनीतिक नेतृत्वले कुनै पनि विषयमा धारणा बनाउनुअघि त्यसको सत्यतथ्य जाँच गर्नुपर्नेमा उनले जोड दिएका छन्। नेपाली काँग्रेस मुलुकको मुख्य र अभिभावक शक्ति भएकाले समाजमा देखा पर्ने जटिल परिस्थितिलाई सम्हाल्ने प्रमुख जिम्मेवारी काँग्रेसकै भएको उनले बताए।
पार्टीका कामकारबाहीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन शनिबार बिदाको दिन पनि केन्द्रीय कार्यालय खुला रहने जानकारी थापाले दिएका छन्। पार्टीका कर्मचारी, पदाधिकारी र स्वयं आफू पनि नेता कार्यकर्ताको सम्पर्कमा रहने भन्दै उनले संसदीय दलका नेता र सांसदहरूलाई समेत परिचालन गरिएको बताए।
छलफलका क्रममा थापाले भने, ‘कुनै पनि विषयवस्तु सार्वजनिक हुनेबित्तिकै हतारमा टिप्पणी गर्ने, बोल्ने वा लेख्ने प्रवृत्तिलाई त्यागौँ।’ उनले अगाडि थपे, ‘राजनीतिक नेतृत्वले विवेकपूर्ण ढङ्गले सोच्नुपर्छ।’
उनले अझै स्पष्ट पार्दै भने, ‘सूचनाको गहिराइ र आधिकारिकता नबुझी प्रतिक्रिया दिँदा समाजमा अनावश्यक भ्रम फैलिन सक्छ र त्यसले अपूरणीय क्षति निम्त्याउन सक्छ।’
सामाजिक दायित्वबारे बोल्दै थापाले भने, ‘आगो जसले लगाएको भए पनि निभाउने काम हाम्रो हो।’ उनले अगाडि थपे, ‘हामी जिम्मेवार शक्ति भएकाले संयमित भएर सही सूचनाका साथ अघि बढ्नुपर्छ।’
उनले बाह्य चर्चा र आलोचनाभन्दा पनि आफ्नो कर्तव्य र जिम्मेवारीमा केन्द्रित हुन सबैलाई आग्रह गरे। छलफलमा केन्द्रीय नेताहरूका साथै कोशी र मधेस प्रदेशका प्रदेश सरकार तथा स्थानीय तहका जनप्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

