२ स्थानबाट बेवारिसे भरुवा बन्दुक बरामद

cp new add
Nisharg hospital

गुल्मी । गुल्मी जिल्लाका दुई फरक स्थानबाट बेवारिसे अवस्थामा भरुवा बन्दुक तथा त्यससँग सम्बन्धित सामग्री बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Nast Ad

मंगलबार साँझ करिब ७:४५ बजे रेसुङ्गा नगरपालिका- २ धागिथुमस्थित सेतो गुराँस नजिक सार्वजनिक स्थानमा बेवारिसे अवस्थामा भरुवा बन्दुक रहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक सुदीप नेपालीको कमाण्डमा टोली खटिएको थियो । खोजतलासका क्रममा बनमाराको झाडीभित्र रहेको सेतो प्लास्टिकको बोरामा एक थान बेसाबुत भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।

बन्दुकलाई कानुनी प्रक्रिया पूरा गरी बरामद गरेर जिल्ला प्रहरी कार्यालय गुल्मीमा ल्याइएको छ । त्यसैगरी मंगलबार दिउँसो रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्सारस्थित मुसीडाँडा क्षेत्रमा पनि बेवारिसे अवस्थामा भरुवा बन्दुकसहित बारुद र छर्रा फेला परेको छ ।

प्रहरी चौकी रुरुबाट प्रहरी सहायक निरीक्षक ज्ञानबहादुर विकको कमाण्डमा खटिएको तीन सदस्यीय गस्ती टोलीले नियमित गस्तीका क्रममा पानी ट्यांकी नजिक उक्त सामग्री फेला पारेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक ( डीएसपी ) वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।

प्रहरीले उक्त स्थानबाट एक थान साबुत भरुवा बन्दुक, करिब १५० ग्राम बारुद, १२ थान छर्रा र १२ थान क्याप बरामद गरी नियन्त्रणमा लिएको छ । बरामद सामग्री हाल प्रहरी चौकी रुरुमा सुरक्षित राखिएको छ ।

दुवै घटनाको सम्बन्ध, बन्दुकको स्रोत तथा प्रयोगबारे प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...