
काठमाडौं । नेपाली कांग्रेसका सांसद भरतकुमार स्वाँरले प्रधानमन्त्री बालेन्द्र साहले चार महिनादेखि भेट्न समय नदिएको भन्दै प्रतिनिधिसभामा आपत्ति जनाएका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद स्वाँरले प्रधानमन्त्रीले सुदूरपश्चिमका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदसँग भेटघाट गरे पनि अन्य दलका सांसदलाई बेवास्ता गरेको आरोप लगाए।
उनका अनुसार आफूले गत चैत २१ गते प्रधानमन्त्रीसँग भेटका लागि निवेदन दिएको भए पनि हालसम्म समय नपाएको गुनासो गरे। केही दिनअघि प्रधानमन्त्री साहले प्रदेशगत रूपमा सांसदहरूसँग भेटघाट गरेका थिए।
सांसद स्वाँरले भने, “अस्ति मात्र सम्माननीय प्रधानमन्त्रीज्यूले सुदूरपश्चिमका रास्वपाका सांसदलाई मात्र भेट्न बोलाउनुभयो। हामी अन्य पार्टीका सांसदलाई बोलाइएन। मैले गत चैत २१ गते भेटका लागि निवेदन दिएको थिएँ। त्यतिबेला सुदूरपश्चिमका सांसदसँग भेट्ने बेला म दाङ गएको थिएँ। अहिले चार महिना भयो, उहाँले हामीलाई भेट्ने समय दिनुभएको छैन।”
उनले प्रधानमन्त्रीले सांसदहरूप्रति विभेदपूर्ण व्यवहार गरेको आरोप लगाउँदै भने, “सम्माननीय सभामुखज्यू, प्रधानमन्त्रीज्यूको आफ्नोलाई हेर्ने चस्मा एक र अर्कोलाई हेर्ने चस्मा अर्कै हो कि के हो? यसमा मेरो घोर आपत्ति छ। हामीमाथि भएको पक्षपातपूर्ण व्यवहारको घोर भर्त्सना गर्दछु।”
सांसद स्वाँरले प्रधानमन्त्रीले सबै सांसदप्रति समान व्यवहार गर्नुपर्ने भन्दै संसदमार्फत आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्।

