१८ वर्षदेखि अधुरो खुटिया–दिपायल द्रुतमार्ग, अब तीन वर्षमै सकिने दाबी

cp new add
Nisharg hospital

सुदूरपश्चिम प्रदेशमा चीन र भारतको सीमालाई छोटो दूरीमा जोड्ने लक्ष्यसहित निर्माण सुरु गरिएको धनगढी–खुटिया–दिपायल–चैनपुर–उरइभन्ज्याङ्ग द्रुतमार्गअन्तर्गत खुटिया–दिपायल खण्डको निर्माण कार्य आगामी तीन वर्षभित्र सम्पन्न हुने दाबी गरिएको छ।

Nast Ad

सडक आयोजना प्रमुख शशांक मिश्रका अनुसार चालु आर्थिक वर्षमा उक्त सडकखण्डका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन भएपछि निर्माण कार्यले गति लिने अपेक्षा गरिएको छ। उनले चालु आर्थिक वर्षमा ५५ करोड रुपैयाँ बराबरको ठेक्का प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै थप करिब डेढ अर्ब रुपैयाँ बजेटका लागि प्रस्ताव पेश गर्ने तयारी भइरहेको बताए।

‘ठेक्का प्रक्रिया अघि बढिसकेको छ। थप डेढ अर्ब रुपैयाँ बजेट स्वीकृत भए खुटियादेखि दिपायलसम्मको काम तीन वर्षभित्र सम्पन्न गर्न सकिन्छ,’ मिश्रले भने। उनका अनुसार खुटियादेखि दिपायलसम्मको कुल ८६ किलोमिटर सडकमध्ये हालसम्म २० किलोमिटरमा कालोपत्रे सम्पन्न भइसकेको छ। यसैगरी दिपायलदेखि मेल्लेखसम्म ३२ किलोमिटर सडक पनि कालोपत्रे भइसकेको उनले जानकारी दिए।

खुटिया–दिपायल खण्डमा निर्माण गर्नुपर्ने १७ वटा पुलमध्ये चारवटा पुल सम्पन्न भइसकेका छन् भने तीनवटाको निर्माण कार्य जारी छ। ‘हाल प्राथमिकताका साथ खुटियादेखि दिपायलसम्मको खण्ड सम्पन्न गर्ने लक्ष्य राखिएको छ,’ आयोजना प्रमुख मिश्रले बताए। आर्थिक वर्ष २०६५/०६६ मा सडक विभागले सुरु गरेको यो सडक आयोजना अपेक्षाअनुसार अघि बढ्न सकेको छैन। प्रारम्भमा डिभिजन सडक कार्यालय कुलपाते, डोटीअन्तर्गत रहेको आयोजना २०७३/०७४ मा निर्माणलाई तीव्रता दिन छुट्टै आयोजना कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको थियो।

पछि २०७६ साल साउनमा सुदूरपश्चिम प्रदेश सरकारले आयोजना आफ्नो मातहतमा ल्याएर निर्माण गर्ने निर्णय गरेको थियो। तर स्रोत व्यवस्थापनमा कठिनाइ देखिएपछि करिब सात महिनामै आयोजनालाई पुनः संघीय सरकारलाई फिर्ता गरिएको थियो। त्यसपछि केही समय आयोजना प्रभावकारी रूपमा अघि बढ्न सकेन।

सुरुवाती योजनाअनुसार पाँच वर्षभित्र धनगढीदेखि दिपायल जोड्ने लक्ष्य राखिए पनि निर्माण सुरु भएको १८ वर्ष बितिसक्दा पनि सडक पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन। अझै सम्पूर्ण ट्र्याकसमेत खुलिसकेको छैन।

सुरुमा ‘खुटिया–बीपीनगर–दिपायल फास्ट ट्र्याक’ नाम दिइएको यो सडकलाई पछि बझाङको चैनपुरसम्म विस्तार गर्ने योजना बनाइयो। त्यसपछि उत्तर–दक्षिण अन्तर्राष्ट्रिय नाका जोड्ने उद्देश्यसहित यसको नाम धनगढी–खुटिया–दिपायल–चैनपुर–उरइभन्ज्याङ्ग द्रुतमार्ग राखिएको हो।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...