बालेनलाई महेश बस्नेतको आग्रह : ‘एक्लै लडेको दाबी गर्नुअघि जनमत नबिर्सिनुहोस्’

cp new add
Nisharg hospital

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मध्यरातमा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै राजनीतिक नेतृत्वको मूल्यांकन भावनात्मक अभिव्यक्तिबाट नभई काम र परिणामका आधारमा हुने बताएका छन्।

Nast Ad

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा ढिलाइ भए पनि सही समय आउने, आफूले गलत बाटो नलिएको र कठिन परिस्थितिमा कहिलेकाहीँ एक्लै संघर्ष गर्नुपर्ने आशयको सन्देश सार्वजनिक गरेका थिए।

उक्त अभिव्यक्तिमाथि टिप्पणी गर्दै बस्नेतले प्रधानमन्त्रीमाथि सत्ता छाड्न दबाब बढिरहेको हुनसक्ने र आफ्ना निर्णय तथा कार्यशैलीको औचित्य पुष्टि गर्नुपर्ने अवस्था आएको संकेत गरेका छन्। ‘मध्यरातमा आएको बालेनजीको यो स्टाटस पढ्दा उहाँमाथि सत्ता त्यागका लागि व्यापक दबाब बढ्दै गएको र आफ्नै निर्णय तथा कार्यशैलीलाई सही साबित गर्नुपर्ने बाध्यता देखिन्छ,’ बस्नेतले लेखेका छन्।

उनले प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्नुभन्दा कार्यसम्पादनमार्फत आफ्ना निर्णयको औचित्य पुष्टि गर्नुपर्ने बताएका छन्। राजनीतिक नेतृत्वले जनतालाई आश्वासन मात्र दिएर नपुग्ने उनको भनाइ छ। बस्नेतले व्यंग्यात्मक रूपमा ‘दुःख पायो मंगले, आफ्नै ढङ्गले’ भन्ने उखान उल्लेख गर्दै रोजगारी, आर्थिक अवस्था, सेवा प्रवाह र नागरिकको दैनिक जीवनसँग जोडिएका समस्यामा सुधार देखिनुपर्ने बताएका छन्।

‘राजनीति भावनात्मक अभिव्यक्तिबाट होइन, काम र परिणामबाट प्रमाणित हुन्छ। जनताले आश्वासनभन्दा आफ्नो जीवनमा देखिने परिवर्तन र प्रगति खोजेका छन्,’ उनले लेखेका छन्। बस्नेतले निर्वाचनबाट प्राप्त जनमत र जनताको विश्वासलाई राजनीतिक नेतृत्वले बिर्सन नहुने पनि बताएका छन्। जनताकै समर्थनबाट सत्तामा पुगेपछि उनीहरूका प्रश्न, गुनासा र आलोचनाको सामना गर्नु नेतृत्वको जिम्मेवारी भएको उनको भनाइ छ।

‘चुनावमा प्राप्त जनमत र जनताको विश्वासलाई बिर्सेर आफूलाई एक्लो लडाकुका रूपमा प्रस्तुत गर्न मिल्दैन। जनताले सत्तामा पुर्‍याएका हुन् भने उनीहरूका प्रश्न र आलोचनाबाट पनि भाग्न मिल्दैन,’ बस्नेतले भनेका छन्। प्रधानमन्त्री शाहको ‘एक्लै लड्नुपर्ने’ आशयको अभिव्यक्तिमाथि प्रश्न उठाउँदै बस्नेतले जनताको विश्वासबाट प्राप्त जिम्मेवारीप्रति नेतृत्व जवाफदेही हुनुपर्ने बताएका छन्।

‘समय अवश्य आउँछ, तर समयले मात्रै सबै कुरा बदल्दैन। काम, व्यवहार र परिणाम नै राजनीतिक नेतृत्वको वास्तविक मापदण्ड हुन्,’ उनले लेखेका छन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...