
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले विदेशी कूटनीतिक नियोगका प्रमुखहरूसँग भेटघाट गर्ने भएका छन् । सामूहिक रूपमा एक पटक सबैसँग भेट गरिसकेका उनले अब भने एक्लाएक्लै भेटघाट गर्न थालेका हुन् ।

यसअघि प्रधानमन्त्री बालेनले विदेशी राजदूतसँग छुट्टाछुट्टै भेट गर्न अस्वीकार गर्दै आएका थिए । सोमबारदेखि उनले विभिन्न देशका राजदूतसँग छुट्टाछुट्टै भेटघाट गर्दै छन् । सुरुवातमा भारतीय राजदूत नविन श्रीवास्तवसँग भेटघाट हुने भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सोमबार बिहान भारतीय राजदूत श्रीवास्तवसँग भेटघाट गरेपछि प्रधानमन्त्री बालेनले नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसँग भेट्ने र त्यसपछि अमेरिकालगायतका राजदूतहरूसँग भेट्ने योजना छ ।
चैत १३ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि बालेनलाई शुभकामना तथा बधाइ दिन राजदूतहरूले समय माग गरेका थिए । यद्यपि उनले कसैलाई नभेटी चैत २५ गते एकैपटक सबै देशका राजदूतसँग सामूहिक भेटघाट गरेका थिए । सोही क्रममा परराष्ट्र मन्त्रालयमार्फत नेपालको विदेश नीतिबारेमा पनि जानकारी गराएका थिए ।
सामूहिक भेटमा भारत, पाकिस्तान, कोरिया गणराज्य, बेलायत, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बंगलादेश, जर्मनी, इजिप्ट, श्रीलंका, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्र संघका राजदूत तथा नियोग प्रमुखहरू उपस्थित थिए ।
त्यसपछि उनले जेठ १२ गते नेपालस्थित युरोपेली संघ (ईयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक भेमटवार्ता गरेका थिए । समूहमा भेटिसकेका राजदूतहरूले त्यसपछि पनि प्रधानमन्त्री बालेनसँग छुट्टै भेट्ने प्रयास गरेका थिए । तर उनले त्यस्तो भेटवार्ताका लागि समय दिएका थिएनन् । उनले विदेशबाट आउने उच्चस्तरयीय कुटनीतिज्ञहरूसँग पनि भेट्न मानेका थिएनन् ।
अमेरिका र चीनबाट आएका विशिष्ट अतिथिहरूलाई पनि प्रधानमन्त्री बालेनले भेट दिएका थिएनन् । प्रधानमन्त्री बालेनले भेट्न नमानेपछि भारतका विदेश सचिव विक्रम मिस्रीले आफ्नो भ्रमण नै स्थगित गरेका थिए । कूटनीतिक क्षेत्रका व्यक्तिहरूसँग भेटघाट गर्नुपर्छ भनेर प्रधानमन्त्री बालेनलाई धेरै ठाउँबाट सुझाव आइरहेको थियो । परराष्ट्रमन्त्री शिशिर खनालले पनि भेटघाट तथा भ्रमणका लागि थुप्रैपटक प्रयास गरेका थिए, तर प्रधानमन्त्री बालेनले सिधै इन्कार गर्दै आएका थिए ।
प्रधानमन्त्री बालेनका कारण नेपालको अन्तर्राष्ट्रिय सम्बन्धहरू धमिलो हुँदै गइरहेको थियो । त्यसलाई सम्हाल्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनाल आफैँ सक्रिय भएका थिए । यो बिचमा सभापति लामिछानेले भारतको पाँच दिने भ्रमण गरिसकेका छन् । परराष्ट्रमन्त्री खनालले भारत र चीनको भ्रमण गरिसकेका छन् । सभापति लामिछाने चीन भ्रमणमा जाने तयारीमा छन् ।
अमेरिकामा हुन गइरहेको संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री बालेन जानुपर्नेमा उनी नजाने भएपछि परराष्ट्रमन्त्री खनाल आफैँ जाने तयारी गरिरहेका छन् ।
प्रधानमन्त्री बालेनलाई भारत र चीनबाट भ्रमणका लागि निम्तो आएको छ, तर हालसम्म उनले विदेश भ्रमणमा जाने मनस्थिति बनाएका छैनन् । भोलिदेखि उनले राजदूतहरूसँग भेटघाट सुरु गर्दैछन् । सो भेटघाटपछि उनी विदेश भ्रमण जाने वातावरण बन्ने अपेक्षा गरिएको छ ।

