
रसुवाको स्याफ्रुबेँसीमा विस्फोटक पदार्थ नष्ट गर्ने क्रममा विस्फोट हुँदा नेपाली सेनाका दुई जना सैनिकसहित तीन जना घाइते भएका छन्।

श्रीनाथ गणअन्तर्गत सु गुल्म, स्याफ्रुबेँसीमा रहेको बंकर घरमा लामो समयदेखि भण्डारण गरिएका विभिन्न आयोजनामा प्रयोग हुने म्याद समाप्त भई काम नलाग्ने अवस्थामा रहेका विस्फोटक पदार्थ नष्ट गर्ने क्रममा विस्फोट भएको बताइएको छ । सो क्रममा घाइते भएका तीन जनालाई नेपाली सेनाको रेस्क्यु उडानमार्फत् थप उपचारका लागि काठमाडौं ल्याइएको छ।
पाइलट महासेनानी सुवास थापाको कमाण्डमा नेपाली सेनाको रेस्क्यु फ्लाइट एनए ०५८ ले रसुवाबाट घाइतेहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मध्य एयर बेसमा ल्याएपछि दिउँसो ३ बजे वीरेन्द्र अस्पताल छाउनी पुर्याइएको छ । घाइते भएका तीन जनामा श्रीनाथ गणका २६ वर्षीय अमलदार राजु भण्डारी एक हुन् । उनको टाउको, दुवै खुट्टा र अनुहारमा चोट लागेकाले अवस्था गम्भीर रहेको जनाइएको छ।
त्यस्तै, एम्युनिसन महाशाखाका २८ वर्षीय प्राविधिक अमलदार भोजबहादुर सारु पनि घाइते भएका छन्। उनको टाउको, दुवै हात र अनुहारमा चोट लागेको छ। उनको अवस्था पनि गम्भीर रहेको बुझिएको छ ।
विस्फोटमा एक जना सर्वसाधारण निमा दोर्जे तामाङ पनि घाइते भएका छन्। उनको अवस्थासमेत गम्भीर रहेको जनाइएको छ ।

