
धनगढी । दार्चुलामा मदिराको सुरमा वडा कार्यालयमा कर्मचारीहरुसँग अश्लिल हर्कत गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नौगाड गाउँपालिका–१ को ईयरकोटका रोशन ठगुन्ना रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गौरव महतले ठगुन्नालाई आइतबार पक्राउ गरेर जिल्ला ल्याइएको जानकारी दिएका छन् । उनकाअनुसार ठगुन्नाले वडा कार्यालयमा मदिरा सेवन गरेर अश्लिल हर्कत देखाएको भिडियो सार्वजनिक भएपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
ठगुन्नाले वडा कार्यालयमा सामाजिक परिचालकका रुपमा कार्यरत कलावती ठगुन्नासँग मदिरा सेवन गरेर विवाद गरेका थिए । नातामा दिदी समेत पर्ने कलावतीले रोशनले मदिरा सेवन गरि आफ्नै छोरामाथि कुटपिट गरिरहेको देखेपछि कुटपिट नगर्न भनेकी थिइन् ।
प्रहरीकाअनुसार ठगुन्नाले आफ्नो छोरालाई जे पो गरौँ भन्दै उनीसँग विवाद गरेका थिए । वडा कार्यालय नजिकै घर भएका ठगुन्ना त्यसपछि कार्यालयमा प्रवेश गरेका थिए । कार्यालय प्रवेश गरेका ठगुन्नाले सामाजिक परिचालक कलावती ठगुन्ना, कार्यालय सहयोग दानसिंह ठगुुन्नासहितका कर्मचारीको सामु के गछौँ भन्दै अश्लिल हर्कत देखाएका थिए ।
माथिल्लो शरीरमा लुगा नलगाएको अवस्थामा त्यहाँ पुगेका उनले तल्लो शरीरको लुगा समेत फुकालेको सार्वजनिक भिडियोमा देखिन्छ । उनको उक्त हर्कतबारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सार्वजनिक चासोको विषय बनेको थियो ।
घटना गत शुक्रबारको भएपनि ढिलोगरि मात्र बाहिर आएको हो । जिल्ला प्रहरी कार्यालयले सार्वजनिक कार्यालयमा अश्लिल हर्कत देखाउने ठगुन्नालाई नियन्त्रणमा लिएपनि किटानी जाहेरी प्राप्त हुन बाँकी रहेको जनाएको छ । किटानी जाहेरी आएपछि उनीमाथि थप अनुसन्धान थालिनेछ ।
तर,नौगाड गाउँपालिका–१ मा भने ठगुन्नाले मदिराको तालमा उक्त हर्कत गरेकाले मुद्दा लगाउन नहुने बहस चुलिएको छ । उनको अश्लिल हर्कतको सिकार बनेकी कर्मचारी समेत मदिरा सेवन गरेका कारण त्यस्तो गरेको हुनसक्ने भन्दै किटानी जाहेरी दिइहाल्ने पक्षमा नरहेको स्रोत बताउँछ । स्थानीय जनप्रतिनिधि समेत घटना मिलाउनुपर्ने पक्षमा उभिएको बताइएको छ ।

