
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले रोपाइँको मुख्य समय सकिँदासमेत मधेशलगायत देशका विभिन्न भागमा रासायनिक मलको सहज आपूर्ति हुन नसकेको भन्दै यसप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

सोमबार दाहालले फेसबुकमार्फत सरकारले समयमा नै पर्याप्त मल आपूर्तिको प्रतिबद्धता जनाए पनि व्यवहारमा त्यो सहज हुन नसकेको बताएका छन्। ‘यतिखेर रोपाइँ सकिँदासमेत मधेशलगायत देशका विभिन्न भागमा रासायनिक मलको सहज आपूर्ति हुन नसक्दा किसानहरू ठूलो समस्यामा परेका छन्,’ उनले लेखेका छन्, ‘सरकारले समयमा नै रासायनिक मलको पर्याप्त आपूर्ति गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा आपूर्ति सहज हुन सकेको छैन।’
उपलब्ध मलसमेत कालोबजारी र बिचौलियाका कारण किसानसम्म समन्यायिक रूपमा नपुगेको गुनासो व्यापक रूपमा आइरहेको दाहालले उल्लेख गरेका छन्।
मल आयातको प्रक्रिया जटिल रहेकाले यसका लागि समयमै पूर्वतयारी आवश्यक पर्ने बताउँदै दाहालले आफ्नो नेतृत्वको तत्कालीन सरकारले यही गम्भीरता बुझेर समयमै मल आपूर्ति तथा वितरण गरेको र अर्को आर्थिक वर्षका लागि समेत बजेट सुनिश्चित गरेको स्मरण गराएका छन्। ‘मेरो नेतृत्वको तत्कालीन सरकारले मल आयात तथा वितरणको यही गाम्भीर्यता बुझेर समयमा नै मल आपूर्ति र वितरण गर्नुका साथै अर्को आर्थिक वर्षका लागि बजेटसमेत सुनिश्चित गरेको विदितै छ,’ उनले भनेका छन्।
दाहालले सरकारलाई रासायनिक मलको आयात प्रक्रिया यथाशीघ्र सम्पन्न गरी पर्याप्त आपूर्ति सुनिश्चित गर्न, आगामी वर्षका लागि समेत तयारी गर्न तथा कालोबजारी र बिचौलियामाथि प्रभावकारी नियन्त्रण गर्दै किसानलाई सहज, पारदर्शी र समन्यायिक रूपमा मल वितरण गर्न आग्रहसमेत गरेका छन्।

