
धनगढी । कैलालीको अत्तरियामा सञ्चालनको पद्यमा अस्पतालमा इजाजत बिना ल्याब सञ्चालन भइरहेको पाइएको छ भने दोगडा सामुदायिक अस्पतालले इजजात पत्र नवीकरण नगरि सेवा दिइरहेको पाइएपछि तत्काल बन्द निर्देशन दिइएको छ ।

स्वास्थ्य कार्यालय कैलालीले गरेको अनुुगमनका क्रममा १५ शैयामा चलिरहेको दोगडा सामुदायिक अस्पतालले लिएको इजाजत पत्रको म्याद सकिएको पाइएको हो ।
इजाजतपत्र नवीकरण नगरि सेवा दिइरहेको पाइएपछि स्वास्थ्य कार्यालयले गोदावरी नगरपालिकालाई तत्काल अस्पतालको सेवा रोक्न निर्देशन दिइएको जनाएको छ ।
स्वास्थ्य कार्यालयका निजी स्वास्थ्य संस्था अनुगमन संयोजक सुर्य बिष्टले नगरपालिकाले दिएको इजाजजत पत्रको म्याद सकिएको पाइएपछि तत्काल बन्द गर्न निर्देशन दिइएको बताएका छन् ।
उनकाअनुसार कुनै पनि अस्पतालले इजजात पत्रको म्याद सकिएपछि सेवा दिन नपाउने प्रावधान रहेको छ । तर, अस्पतालले इजाजत पत्र नवीकरण गरेमा भने सेवा दिन सक्नेछ ।
यस्तै, अत्तरियामै रहेको पद्यमा अस्पतालले पनि इजाजत बिना ल्याब चलाइरहेको पाइएको छ । स्वास्थ्य कार्यालयले गरेको अनुगमनका क्रममा ५० शैयाको पद्यमा अस्पतालले इजाजत पत्र नलिएरै सेवा दिइरहेको पाइएपछि आवश्यक कारवाहीका लागि स्वास्थ्य निर्देशनालयलाई सिफारिस गरिएको बिष्टले जानकारी दिएका छन् ।
यसअघि अत्तरियाकै अत्तरिया हस्पिटलले पनि गैरकानुनी रुपमा क्याथ ल्याब सेवा सञ्चालन गरेको पाइएपछि स्वास्थ्य कार्यालयले निर्देशनालयलाई कारवाही गर्न सिफारिस गरेको छ ।

