
काठमाडौं । सुर्खेतको चौकुने गाउँपालिका–१० चालिखेकी ५६ वर्षीया देउमा कामीको सर्पको टोकाइबाट मृत्यु भएको छ । बुधबार बिहान घरमा हात धुने क्रममा दायाँ हातको चोर औँलामा सर्पले डसेपछि उपचारका लागि स्वास्थ्य संस्था लैजाँदै गर्दा उनको मृत्यु भएको हो ।

मृतकका देवर बाल विंक अनुसार सर्पले टोकेपछि देउमालाई सुरुमा पश्चिम बाजुरा चौरस्थित पलाईतेको स्वास्थ्य संस्थामा लगिएको थियो । त्यहाँ प्राथमिक उपचार गरिए पनि थप उपचारका लागि आवश्यक स्रोत–साधनको अभाव भएपछि उनलाई सुर्खेत अस्पतालमा रेफर गरिएको थियो ।
‘पलाईतेमा उपचार गर्दा गर्दै साधन–स्रोत नभएपछि सुर्खेत रेफर गरियो । सुर्खेत ल्याउने क्रममा बाटोमै मृत्यु भयो,’ विंकले भने
पलाईतेबाट सुर्खेततर्फ आउन करिब चार घण्टा लाग्ने भएकाले उपचारका लागि ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको परिवारले जनाएको छ । सुर्खेत अस्पतालको सुचना अधिकारी अनिता ज्ञवालीले बिहान १०ः३५ अस्पताल आइपुग्दा बिरामीको मृत्यु भइसकेको जानकारी दिइन् ।
उनका अनुसार बिरामीलाई आधारभूत अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो । एन्टिस्नेक भेनम (सर्पको विषविरुद्धको औषधि) समेत दिइएको थियो । तर अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि सुर्खेत अस्पताल रेफर गरिएको थियो ।

