शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ: देउवा


काठमाण्डौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले करिब पाँच महिना लामो स्वास्थ्य उपचार सकेर स्वदेश फर्किएपछि एक विशेष सन्देश जारी गरेका छन् । बिहीबार मध्याह्न काठमाडौं अवतरण गरेपछि सामाजिक सञ्जालबाट सार्वजनिक गरिएको उक्त सन्देशमा देउवाले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिँदै देशको वर्तमान राजनीति, पार्टीको आन्तरिक अवस्था र भविष्यको मार्गचित्रबारे आफ्ना धारणाहरू स्पष्ट पारेका हुन्।
पाँच महिनाको उपचारपछि स्वदेश फर्कँदा आफूलाई गहिरो भावनात्मक अनुभूति भएको बताउँदै देउवाले भनेका छन्, ‘म आज यहाँ विनम्र सेवकका रूपमा उपस्थित भएको छु- सुन्न, सिक्न र समुन्नत मुलुक बनाउने यात्रामा समर्पित हुन ।’
आफ्नो सन्देशमा देउवाले नेपाली कांग्रेसको ऐतिहासिक भूमिकाको स्मरण गरेका छन् । वि.सं. २००७ सालदेखिको राजनीतिक परिवर्तनको नेतृत्व कांग्रेसले नै गरेको उल्लेख गर्दै उनले बीपी कोइराला, सुवर्ण शमशेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाजस्ता अग्रज नेताहरूको त्याग र योगदानलाई कहिल्यै भुल्न नहुने बताएका छन् । कांग्रेस केवल सत्ताको लागि नभई जनताको विश्वासको प्रतीक भएको उनको भनाइ छ ।
सभापति देउवाले युवा पुस्ताको आकांक्षा र परिवर्तनको मागलाई आत्मसात् गरेको उल्लेख गरेका छन् । ‘मैले हाम्रो युवा पुस्ताको मौन पीडा र प्रखर आवाज दुवै सुनेको छु,’ उनले भनेका छन् । विश्व बदलिएको र समयको गतिसँगै अघि बढ्नुपर्ने कुरालाई स्वीकार गर्दै उनले समाजका सबै वर्ग र समुदायको सार्थक सहभागिता सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।
वर्तमान सरकारलाई लक्षित गर्दै देउवाले जनताको आकांक्षा पूरा गर्ने बाटोमा सरकार अघि बढ्नुपर्ने सुझाव दिएका छन् । राजनीतिक आग्रह र पूर्वाग्रह राखेर अघि बढ्दा त्यसले सत्तासीन दल र मुलुक दुवैलाई हित नगर्ने उनको तर्क छ । उनले नेपाली कांग्रेस जस्तोसुकै परिवर्तनको व्यवस्थापनमा सहयोग गर्न तयार रहेको तर हरेक रूपान्तरण विवेक, पारदर्शिता र न्यायका आधारमा हुनुपर्नेमा जोड दिए ।
पार्टीभित्र देखिएको निराशा र असमझदारीलाई चिर्नु अहिलेको मुख्य आवश्यकता रहेको देउवाको भनाइ छ । उनले विगतका माओवादी सशस्त्र द्वन्द्व र पार्टीभित्रका पुराना विवादहरू सुल्झाएको आफ्नो अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बताए । उनले पार्टीका साथीहरूलाई निराश नहुन र पुनः एकपटक एकजुट भएर लाग्न अपील गरेका छन् ।
वि.सं. २०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएको ऐतिहासिक सन्दर्भ जोड्दै देउवाले आफू पनि शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको स्पष्ट पारे । उनले प्रतिशोधको राजनीति छोडेर मेलमिलापको मार्ग रोज्न सबैलाई आह्वान गरेका छन् ।
आफ्नो जीवनलाई खुला किताबको रूपमा चित्रण गर्दै देउवाले भनेका छन्, ‘म नेता बनेर होइन, यस महान् राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु ।’
