
धनगढी । कञ्चनपुरमा ३१ ग्राम लागूऔषध खैरो हेरोइनसहित दुई युवक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार, विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी झिलमिलाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर २ बस्ने वर्ष २६ का रोसन सार्की र सोही ठाउँ बस्ने वर्ष ३० का ठगु राम डगौरा रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले बुधबार बेलडाँडी गाउँपालिका वडा नम्बर ०३ बनपुरुवास्थित सडकखण्डमा चेकजाँच गर्दा शंकास्पद अवस्थामा रहेका दुवै जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
उनीहरूको साथबाट प्रहरीले ३१ ग्राम १० मिलिग्राम तौल भएको लागु औषध खैरो हेरोइन बरामद गरेको छ। साथै, उनीहरूले प्रयोग गरिरहेको म १ प ९३०१ नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ र उनीहरूविरुद्ध लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको रावतले जानकारी दिए।

