
धनगढी । कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भारतबाट भन्सार छली गरी ल्याइएका माछा, बोइलर कुखुरा तथा विभिन्न उपभोग्य सामग्री बरामद गरेको छ। कैलालीको धनगढी उपमहानगरपालिका–२ स्थित सारदा स्कुल नजिकबाट अन्दाजी २१ हजार ६ सय रुपैयाँ बराबरको छिद्रा माछा प्रहरीले बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उक्त माछा बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

त्यसैगरी, कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ अन्तर्गत नेपाल–भारत सीमास्थित १८ नम्बर पिल्लर नजिकबाट अन्दाजी ३४ हजार २ सय रुपैयाँ बराबरको बोइलर कुखुरा बरामद गरिएको छ। यस्तै, पुनर्वास नगरपालिका–३ स्थित एसपीएल स्कुल नजिकबाट अन्दाजी २० हजार २ सय रुपैयाँ बराबरका पेय पदार्थ, कपडा तथा किराना लगायतका सामान पनि प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।
बरामद सामानको कुल मूल्य ७६ हजार रुपैयाँ रहेको छ। उक्त सामान इलाका प्रहरी कार्यालय दोधारा चाँदनी र त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधबार नियन्त्रणमा लिएको हो।

