
काठमाडौँ । सुदूरपश्चिम सरकारको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता खगराज भट्टले आज दाबी पेस गर्दैछन् । प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्न बिहान ११ बजेसम्मको समय दिएका थिए ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख मियाँले बिहीबार बेलुकी आह्वान गरेका थिए । सत्ता साझेदार नेकपा एमालेको समर्थनमा भट्टले मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् । दिउँसो ३ बजे प्रदेश प्रमुख मियाँ समक्ष मुख्यमन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम रहेको भट्टले जानकारी दिए ।
‘बिहान ११ बजे मुख्यमन्त्री नियुक्त हुने जानकारी प्राप्त भएको छ । आज दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम राखिएको छ । सत्ता साझेदार दल एमालेसँग सल्लाह गरेर आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी छ’, भट्टले भने ।
साउन ९ गते एमाले र नेकपाबिच भएको तीन बुँदे सहमति भएको थियो । सहमति अनुसार सुदूरपश्चिम नेकपाको भागम परेको थियो । सुदूरपश्चिममा नेकपा २२ सिट सहित सबैभन्दा ठुलो दल रहेको छ । एमालेको ११ सिट रहेको छ ।

