
काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित प्रहरी चौकी भकुण्डेका इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) गणेशप्रसाद श्रेष्ठ युवतीसहित होटलमा भेटिएका छन् ।

श्रेष्ठलाई आइतबार मध्यरातमा नमोबुद्धस्थित एक होटलबाट युवतीसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धुलिखेलमा बुझाइएको हो ।
स्थानीयले प्रहरी चौकीका इन्चार्जजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले आफ्नो जिम्मेवारी र मर्यादाविपरीत गतिविधि गरेको आरोप लगाएका छन् ।
स्थानीयले नियन्त्रणमा लिएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको टोली घटनास्थलमा पुगेर श्रेष्ठसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय धुलिखेल ल्याएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी रबिन कार्कीका अनुसार स्थानीयबाट सूचना प्राप्त भएपछि श्रेष्ठसहित दुई जनालाई प्रहरी नियन्त्रणमा लिइएको हो ।
तर सई श्रेष्ठमाथि स्थानीयले रिसिइबी साँधेको भिडियोमा सुन्न सकिन्छ । उनीमाथि स्थानीयहरुले केरकार गरेको भिडियोमा प्रष्ट छ । हाल भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
श्रेष्ठ गत जेठमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट उत्कृष्ट प्रहरी घोषित भएका थिए ।

