
कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव खतराको तह पार गरेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब उपरीक्षक जीवन गुरुङका अनुसार सोमबार बिहान ९ बजे गरिएको मापनमा महाकाली नदीमा पानीको बहाव १ लाख १४ हजार क्युसेक पुगेपछि भारतीय पक्षले चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएको हो।
शारदा ब्यारेजमा महाकालीको पानीको बहाव १ लाख क्युसेक पुगेपछि चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउने गरिएको छ।
यसैबीच, जल तथा मौसम पूर्वानुमान महाशाखाले बैतडी, कञ्चनपुर, कैलाली, बर्दियालगायत क्षेत्रमा पछिल्लो समय भारी वर्षा भइरहेको जनाएको छ। महाशाखाले महाकाली नदीसहित कञ्चनपुरका साना नदी तथा खोलामा समेत पानीको बहाव बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

