
काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

प्रहरीले म्याद थपका लागि श्रेष्ठलाई सोमबार अदालत उपस्थित गराएको थियो । यसअघि अदालतले उनलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । उक्त म्याद सकिएपछि अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले थप समय माग गरेको थियो । त्यसपछि अदालतले थप ४ दिन थुनामा राख्न अनुमति दिएको हो ।
यता श्रेष्ठको गिरफ्तारी गैरकानुनी भएको दाबीसहित सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार नै सुनुवाइ हुँदै छ । उक्त रिटको पेसी न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा तोकिएको छ ।
श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गत बुधबार पक्राउ गरेको थियो । वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

